धान बालीमा रोगको सङ्क्रमण फैलिएपछि किसान चिन्तित

खोटाङ :गाभा सरेर पोटाउन लागेको धान बालीमा गभारो नामको कीरा तथा ब्लाष्ट नामक रोगको सङ्क्रमण फैलिएपछि किसान चिन्तित बनेका छन् ।

रावाबेँसी, दिप्रुङ चुइचुम्मा, साकेला, खोटेहाङ गाउँपालिका सहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न स्थानमा लगाइएको धान बालीमा कीरा तथा रोगको सङ्क्रमण फैलिएपछि किसान चिन्तित बनेका हुन् । 

धानको बाला लाग्ने ठाउँदेखि तल डाँठको वरिपरि तथा आँख्लामा खैरो रङ भएको दाग तथा गभारो नामको कीराको समस्या देखिएको किसानले बताएका छन् । थोप्ला जोडिँदै जाँदा पूरै पात डढेको देखिने र रोग लागेको धानको पात वा गेडामा स–साना गोलाकार वा लाम्चिला खैरो थोप्ला देखिएको उनीहरुको भनाइ छ ।  

गाभा सरेर पोटाउन लागेको धान बालीमा कीरा तथा राइस ब्लाष्ट–थ्री, सेथ ब्लाइट–टु र ब्याक्टेरियल फुट रट रोगको सङ्क्रमण देखापरेको कृषि ज्ञान केन्द्र खोटाङका बाली संरक्षण अधिकृत रामानन्द यादवले जानकारी दिए ।

“जिल्लाका कृषकले लगाएका धान बालीमा तीन किसिमको रोग र एक प्रकारका कीराको सङ्क्रमण फैलिएको पाइएको छ । कृषि ज्ञान केन्द्रले बजेट अभावका कारण विषादी उपलब्ध गराउन सकेको छैन”, उनले भने, “धान बालीमा फैलिएको रोग पहिचान गरेर नियन्त्रण गर्न जिल्लास्थित सबै स्थानीय तहका प्राविधिकलाई सुझाव दिएका छौँ । स्थानीय तहले चासो दिएको खण्डमा नियन्त्रणमा ल्याउन सकिन्छ ।”

धानको कलिलो अवस्थाको बोटमा गभारोको आक्रमण भएमा गावा मृत देखिने तथा फूल फुल्ने अवस्थामा आक्रमण भएमा भुसमात्र भएको सेतो बाला देखिने जनाइएको छ । धान बालीमा रोग तथा कीराको सङ्क्रमण फैलिएपछि यस वर्ष जिल्लामा उत्पादनमा समेत गिरावट आउने सम्भावना बढेको कृषि विज्ञहरूले बताएका छन् । 

जिल्लाका दश स्थानीय तहमध्ये रावाबेँसी गाउँपालिकाका किसानले लगाएको धान बालीमा सबैभन्दा बढी रोग तथा कीराको प्रकोप देखिएको स्थानीय बासिन्दाले बताएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल, खाल्ले र नेर्पामा लगाइएको धान बालीमा समेत रोग तथा कीराको सङ्क्रमण देखापरेको छ । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गभारो कीरा, ब्लाष्ट, खैरो थोप्ले रोग र व्याक्टेरियल लिफ ब्लाइटको सङ्क्रमण देखिएको कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले बताए । “नगरपालिकाको सबै वडाका किसानले लगाएका धान बालीमा रोग तथा कीराको प्रकोप देखिएको छ ।

सबैभन्दा बढी वडा नं ४ खाल्लेमा देखिएको छ”, उनले भने, “धान बालीमा लागेको रोगको प्रकोप तथा कीरा नियन्त्रणका लागि नगरपालिकाले ७५ प्रतिशत अनुदानमा किसानलाई कारटाप हाइड्रोक्लोराइड, कार्बेनडाजिम र एक्जाकोनाजोल नामको विषादी वितरणसमेत वितरण सुरु गरेको छ ।”

जिल्लाका अन्य स्थानीय तहले पनि आ–आफ्नो क्षेत्रमा धान बालीमा फैलिएको रोग नियन्त्रणका लागि पहल थालेको बुझिएको छ । यद्यपि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाहेक जिल्लाका अन्य स्थानीय तहका कृषकले अहिलेसम्म रोग नियन्त्रणका लागि आवश्यक पर्ने विषादी पाएका छैनन् । 

दुई नगरपालिका र आठ गाउँँपालिका रहेको जिल्लामा कुल १२ हजार आठ सय ९८ हेक्टर खेतमा किसानले धानखेती गर्दै आएका छन् । देशभर गाई÷गोरुमा महामारीका रूपमा फैलिएको लम्पी स्किन रोगसँगै बेलामा वर्षा नहुनु, यान्त्रीकरणमा सबै किसानको पहुँच नपुग्नुलगायतका कारण यस वर्ष जिल्लामा धान रोपाइँमा समेत ढिलाइ भएको थियो । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments