उत्पादन प्रवद्र्धनका लागि साप्ताहिक कृषि हाटबजार

कालिमाटी फलफूल तथा तरकारी बजार

वालिङ (स्याङ्जा): स्याङ्जाको फेदीखोला गाउँपालिका–१ सर्केटारीमा साप्ताहिक कृषि हाटबजार सञ्चालनमा आएको छ ।

फेदीखोला साना किसान कृषि सहकारी संस्थाले फेखीखोलाका साना किसान तथा लघु उद्यमीको उत्पादन प्रवद्र्धनका लागि प्रत्येक शनिबार हाटबजार सञ्चालन गरेको हो । किसानले उत्पादन गरेका विभिन्न प्रकारका तरकारी, फलफूल, माछामासु लगायतका उत्पादन कृषि हाटबजारमा ल्याएर बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको सहकारीका अध्यक्ष नेत्र कार्कीले बताए ।

“किसानले उत्पादन गरेका वस्तुको बजारीकरणमा सहयोग पु¥याउने उद्देश्यले हाटबजार सञ्चालन गरेका हौँ”, उनले भने, “हिजोबाट हाटबजार सञ्चालनमा आएसँगै स्थानीय किसान उत्साहित छन् ।” सिद्धार्थ राजमार्गको छेउमै सञ्चालन भएको हाटबजारबाट स्याङ्जा, पोखरा आवतजावत गर्ने यात्रुले बढी मात्रामा सामग्री खरिद गर्ने गरेका छन् ।

“बाटोमा हिँड्ने यात्रुले सवारीसाधन रोकेर हाटबजारमा रहेका आफूलाई आवश्यकपर्ने कृषि तथा पशुजन्य सामग्री लैजानुभयो”, उनले भने, “जसले गर्दा किसानले बजार खोज्दै हिँड्नुपर्ने अवस्था नभइ सहजरुपमा बिक्री भयो, आशा छ आगामी दिनमा किसानले अझै उत्पादन बढाउँदै लैजानु हुनेछ ।”

प्रत्येक शनिबार सञ्चालन हुने कृषि हाटबजारलाई व्यवस्थित र नियमितरुपमा अगाडि बढाउने उनले बताए । प्रत्येक शनिबार बिहान ८ देखि बेलुका ६ बजेसम्म किसानले उत्पादन गरेका वस्तु तथा उत्पादित सामग्रीको खरिदबिक्री हुन्छ ।

स्थानीय उत्पादनलाई एकै ठाउँबाट खरिदबिक्री गर्नका लागि हाटबजार सञ्चालनमा आएको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताए । “यहाँका किसानलाई प्रोत्साहन गर्न गाउँपालिकाले उत्पादनमा आधारित वस्तुमा १५ प्रतिशत नगद अनुदान दिन्छौँ”, उनले भने, “जसले गर्दा किसानले उत्पादनमा जोड दिएका छन्, उत्पादित वस्तुको सहज बजारीकरणमा ध्यान दिँदै साप्ताहिक हाटबजार सञ्चालनमा आएको हो ।”

गाउँपालिकाले २६ वटा तरकारी बालीको समर्थन मूल्य निर्धारण गरिदिएको छ । गाउँ–गाउँमा किसानले उत्पादन गरेका कृषिजन्य वस्तुको बजारीकरणका लागि ढुवानीमा समेत सहयोग गर्दै आएको उनले बताए । “सडककै छेउमा रहेकाले पनि पहिलो दिन नै राम्रो बिक्री भएको छ”, उनले भने, “यो राम्रो सुरुआत हो, यसको व्यवस्थापन र निरन्तरताका विषयमा थप जोड दिन्छौँ ।”

हाटबजारमा किसानले उत्पादन गरेका कृषिजन्य तथा पशुजन्य उत्पादन बिक्री गर्न पाउने र आफूलाई आवश्यक परेका औजार, उपकरण खरिद गर्न पाउने गरी व्यवस्थापन गरिएको छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments