सापू रोगबाट बच्न चिकित्सकको आग्रह

नारायणगढ (चितवन):पछिल्लो केही दिनयता चितवन तथा यस आसपासका क्षेत्रमा सेतो पुतलीबाट सर्ने ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापू) रोगका बिरामी देखा पर्न थालेका छन् ।

भरतपुर आँखा अस्पतालमा विगत १५ दिनमा छ जना सापूका बिरामी जटिल अवस्थामा आएको अस्पतालका आँखारोग विशेषज्ञ डा कुमुदिनी सुवेदीले बताए । केही समयअघि महामारीको रुपमा फैलिएकोे आँखा पाक्ने रोगसँग झुक्किएर सापू रोगका बिरामी अस्पताल उपचारका लागि समयमा नआउँदा यसमा जटिलता थपिएको उनको भनाइ छ ।

उनले भने, “हामीकहाँ आउने बिरामी पाँच दिनदेखि नौ दिनको अन्तरालमा सापूका लक्षण बोकेर आउनुभएको छ ।” आँखा रातो भएको खण्डमा यसलाई सामान्य आँखा पाकेको भनी भर परेर नबस्न डा सुवेदीको आग्रह छ । उनले सापूरोग साना बालबालिकाका लागि अझ घातक हुनसक्ने भन्दै बच्चा चञ्चल हुने, सरसफाइमा ध्यान नदिने, बच्चालाई सरसफाइका बारेमा बुझाउन नसकिने र बच्चाले आफ्नो आँखाको समस्याबारे बताउन नसक्ने भएकाले सानो बच्चाको दृष्टि गुम्न सक्ने खतरा बढेको औँंल्याए ।

डा सुवेदीले अहिलेको समयमा अकारण दृष्टि गुमाउनबाट बच्नका लागि सापु रोेगबारे जान्न अन्यन्तै आवश्यक भएको बताए । आँखा पाक्ने रोग लाग्दा आँखा रातो हुने, कचेरा लाग्ने भए पनि सुरुमै दृष्टिमा कमजोरी नआउने तर सापू रोगमा भने आँखामा कचेरा वा चिप्रा नलागी आँखा रातो हुने, दृष्टि कमजोर हुने, उज्यालोमा हेर्न गाह्रो हुने जस्ता लक्षण देखिने डा सुवेदीले जानकारी दिए ।

उनले भने, “आँखा रातो भएपछि हामी सकेसम्म छिटो आँखा उपचार केन्द्रमा उपचार गर्न गइहाल्नुपर्छ, समयमै उपचार पाउन सकेमा सापू रोग लागेका धेरैजसो बिरामीको दृष्टि बचाउन सकिन्छ ।” सापू रोगबारे नेपाल सरकारले पनि जानकारीमूलक पर्चा निकालेको अवगत गराउँदै डा सुवेदीले त्यसमा उल्लेख भएका कुराको अवलम्बन गर्न अनुरोध गरे ।

प्रायः वर्षायामको भदौदेखि मङ्सिरसम्म यो रोग पाहडी भेगमा बढी देखिने भए पनि अहिले मौसमको परिवर्तनसँगै तराई भेगतिर पनि सर्दै गएको उनको भनाइ छ । हालसम्म सेतो पुतलीलाई सापूकोे कारक मानिएको भए पनि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीमा समेत यो रोग देखा परेको डा सुवेदीले बताए ।

अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको भन्दै उनले भने, “यो रोगको लक्षण देखापरेको २४ देखि ४८ घण्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ, म आग्रह गर्दछु हजुरहरुको आँखा रातो भएको छ भने तुरुन्तै आँखा उपचार केन्द्रमा आउनुहोला र दृष्टि बचाउने हाम्रो लक्ष्यमा सहयोग गर्नुहोला ।” रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?