फ्रान्स जान थाल्यो इलाममा उत्पादित जडीबुटी

मङ्गलबारे (इलाम): इलाम माईजोगमाई गाउँपालिकाका नित्यराज दाहालले ‘ओसोनिक हर्बल तथा ओसोनिक जडीबुटी प्रशोधन केन्द्र’ बाट उत्पादित जडीबुटी विदेश निर्यात हुन थालेको छ । उनले १२ वर्ष पहिले केन्द्र स्थापना गरी जडीबुटी तथा ओखती उत्पादन गर्दै आएका थिए । केन्द्रबाट उत्पादित ओखती अहिले फ्रान्सलगायत देशमा जान थालेको दाहालले बताए ।

केन्द्रलाई घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गरी सञ्चालनमा ल्याएको जनाउँदै उद्योगबाट विभिन्न जडीबुटीका तेल उत्पादन हुने उनले बताए । गाउँमा उत्पादित तितेपाती, धूपी, मेन्था, धसिङ्गरेलगायतबाट तेल प्रशोधन गरिने भन्दै दाहालले हाल पाती, मेन्था र धूपीबाट प्रशोधित तेल बिक्री हुँदै आएको जानकारी दिए । उनका अनुसार निकट दिनमा जेरेनियम, जङ्गली सयपत्री, रोजमेरीलगायतबाट पनि तेल उत्पादन गर्ने तयारी भइरहेको छ ।

उद्योगका सञ्चालक दाहाल ओसोमा विश्वास गरेर गाउँमा नै ध्यान गर्ने अनि गराउने गर्छन् । ध्यान गर्न आएका विदेशीले यहाँबाट उत्पादित वस्तु खरिद गरेर लैजान गरेको उनले बताए । विदेशीले नेपाली प्राकृतिक वस्तु मन पराउने गरेकाले यहाँ उत्पादित जडीबुटी विदेश निर्यात हुन थालेको उनको भनाइ थियो ।

सुरुसुरुमा विदेशीले सामान्य रुपमा जडीबुटी लगे पनि पछिल्लो समय व्यवसायिक रुपमा नै निर्यात हुन थालेपछि आफूलाई पनि थप हौसला बढेको दाहालले जानकारी दिए । उनका अनुसार उत्पादित मेन्थाको तेल भने स्थानीय बजारमा नै खतप भइरहेको छ । तितेपाती र धूपीको तेल फ्रान्समा जान थालेको उनले बताए ।

दाहालका अनुसार धूपी दुई हजार पाँच, तितेपाती छ हजार, मेन्था सात हजार र धसिङ्गरे सात हजार प्रतिकिलो बिक्री हुने गरेको छ । धसिङ्गरेको उत्पादन पनि गाउँमा सुरु भइसकेको छ । दाहालले ३५ रोपनी जमिनमा यस्ता विभिन्न वनस्पतिको खेती गर्दै आउएका छन् ।

बाँकी स्थानीयवासीबाट वनस्पति खरिद गरी प्रशोधन गरेर तेल उत्पादन गर्ने गरिएको दाहालको भनाइ थियो । “गाउँका किसानले उत्पादन गरेको वस्तु खरिद गर्ने गरेको छु”, उनले भने, “धूपी प्रतिकिलो आठ सय र तितेपाती प्रतिकिलो चार सयमा लिने गरेको छु ।”

सरकारी निकायबाट कुनै सहयोग नपाएकाले उद्योग फस्टाउन नसकेको उनको भनाइ थियो । गाउँमा रहेका खाली जमिनको सदुपयोग गरी स्थानीयस्तरमा व्यावसायिक जडीबुटी उत्पदान गर्ने प्रयासमा लागेको दाहालले बताए ।

“खेर गइरहेको पाती, धूपीलगायत वनस्पतिबाट जडीबुटी/हर्बल तेल उत्पादन गरेर केही पैसा आउने भएपछि स्थानीयवासीले उत्पादन सुरु गरेका छन्”, स्थानीय घनेन्द्र काफ्लेले भने । यो नयाँ काम भएको भन्दै यसवर्ष धसिङ्गरेका १४ हजार बिरुवा गाउँमा वितरण गरेको बताए ।

काफ्लेले धूपीलगायत अन्य प्रजातीका बिरुवासमेत वितरण गरिएको जनाउँदै डिभिजन वन कार्यालय इलामले दुई लाख बिरुवा सहयोग गरेको जानकारी दिए । स्थानीय तह तथा कृषि ज्ञान केन्द्रलगायत अन्य निकायबाट भने सहयोग पाउन नसकेको उनको भनाइ थियो ।

गाउँमा उत्पादित वस्तु बाहिर जान थालेपछि स्थानीयवासीसमेत खुसी भएका केशव दाहालले बताए । “उद्योगबाट उत्पादित तेल तथा जडीबुटी विदेश निर्यात हुन थालेपछि हामीलाई पनि हौसला मिलेको छ”, उनले भने, “उद्योग विस्तार हुँदै गए स्थानीयले रोजगारीसमेत पाउने छन् ।”

कस्तो जडीबुटी उत्पादन हुन्छ त ?

यहाँबाट विभिन्न वनस्पतिको तेल उत्पादन हुन्छ । उत्पादित तेल रुघाखोखी, घाँटी दुखेको बेला प्रयोग गर्दा ठिक हुने उद्याग सञ्चालक दाहालको भनाइ थियो । तेल प्रयोगकर्ताले दुखाइ कम भएको बताएका छन् । हाडजोर्नी, ढाड दुख्ने तथा घुडा दुखाइका बिरामी आउने गरेका उनले बताए ।

यस वर्षबाट मात्र उत्पादित सबै वस्तु बिक्री हुन थालेकाले अब नाफामा जान सकिने सञ्चालक दाहालले बताए । स्थानीय निकाय तथा सरकारीले सडकको व्यवस्था गरिदिए यहाँबाट उत्पादित जडीबुटी अन्य जिल्लामा पनि पु¥याउन सकिने उनको भनाइ थियो ।

“नेपाली उखान १२ वर्षमा खोलो पनि फर्किन्छ भने झै उद्योग स्थापनाको ११ वर्षपछि यस वर्षदेखि यहाँबाट उत्पादित तेल तथा जडीबुटी फ्रान्सलगायत देश निर्यात हुन थालेको छ”, दाहालले भने, “स्थानीय तहबाट हालसम्म कुनै सहयोग भएको छैन । आर्थिक सहयोग भए, उद्योगलाई विस्तार गरी उत्पादन पनि बढाउने योजना छ ।” रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?