आम्दानी लिने समयमा आएको वर्षा र हावाहुरीले केराखेतीमा क्षति,मारमा किसान

कैलाली:यो समय केरा किसानले उत्पादन बजारमा पठाउने हो । कैलालीका किसान आजभोलि उत्पादन भएको केरा बजारमा पठाउन थालेका छन् । केरा तयार भएर आम्दानी लिने समयमा आएको बेमौसमी वर्षासँगैको हावाहुरीले किसानलाई नोक्सान भएको छ ।

हावाहुरीले केराखेतीमा लाखौँ रुपैयाँको क्षति पुर्याएको किसानको भनाइ छ । गत असोज २९ गते वर्षासँगै आएको हावाहुरीले कैलालीमा धानबाली र केराखेतीमा क्षति भएको छ । पाँच बिघा क्षेत्रफलमा केराखेती गर्ेका टीकापुर–५ झन्झटपुरका रेवन्त साउदको केराबारीमा करिब ७५ प्रतिशत क्षति भएको छ । बारीमा भएका अधिकांश केराका बोट हावाहुरीले ढालेको छ । उत्पादन लिने समयमा हावाहुरीले एकैपटक क्षति पुर्याउँदा उनलाई निकै पीडा भएको छ ।

“उत्पादन लिने बेलामा हावाहुरीले केराका सबै बोट नोक्सान गर्यो”, साउदले भने, “वर्षभरिको मेहनत खेर गयो, लगानी पनि डुब्यो ।”

अर्का केरा उत्पादक किसान रामबहादुर कुँवरले पनि जोशीपुरको झवही, टीकापुरको शङ्करपुर र जानकीको गोलौरीमा गरी ३२ बिघा क्षेत्रफलमा केराखेती गरेका छन् । उनको बारीमा पनि क्षति भएको छ । “अहिलेसम्म कति बोट ढले भन्ने यकिन छैन”, उनले भने किसानलाई कसैगरी पनि उभो लाग्ने वातावरण छैन, गएको वर्ष खडेरीले केरा बिग्रियो अहिले फेरि हावाहुरीले ठूलो क्षति गर्यो ।”

अर्का किसान टेकेन्द्र धामीको पनि करिब ३० प्रतिशत क्षति भएको छ । धामीका अनुसार बाहिरबाट हेर्दा त्यति होलाजस्तो छ तर भित्र पस्न पाएको छैन, अझै धेरै पनि हुनसक्छ ।

केरा उत्पादक सङ्घ कैलालीका अध्यक्ष दीपेन्द्र थारूका अनुसार कैलालीमा हावाहुरीले केरामा धेरै क्षति पुर्याएको छ । त्यसमा पनि टीकापुर नगरपालिकामा बढी क्षति भएको छ । “कुनै किसानको त ७०–८० प्रतिशतसम्म पनि क्षति भएको छ”, थारूले भने।” हावाहुरीले गरेको क्षतिको यकिन विवरण आउन अझै केही दिन लाग्ने उनले बताए।

अध्यक्ष थारूले बर्सेनि केराखेतीलाई हावाहुरीले यसरी क्षति गरिरहने भएकाले सबै केरा उत्पादक किसानलाई बाली बीमा गर्न आग्रहसमेत गरेका छन् । “हामीले बाली बीमा गर्नुस् भनिरहेका छौँ”, उनले भने, “बाली बीमा गर्दा केही मात्रामा भए पनि किसानलाई राहत पुग्छ ।”

कैलाली जिल्लामा करिब एक हजार दुई सय हेक्टरमा केराखेती हुने गरेको छ । आठ सय हेक्टर क्षेत्रफल टीकापुर क्षेत्रमा मात्र केराखेती गरिएको छ । सोमबार आएको हावाहुरीले नागरिकका घरमा समेत क्षति पुर्याएको छ । हावाहुरीले टीकापुर–४ मा २६ घरमा क्षति गरेको वडाध्यक्ष लालवीर चौधरीले बताए। रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?