चिनीको कृत्रिम अभाव गरिएको थाहा भए १०० मा फोन गर्नु : नेपाल प्रहरी

काठमाडौं:नेपाल प्रहरीले चिनीको कृत्रिम अभाव सिर्जना गरेको पाइए त्यसको सूचना प्रहरीको निःशुल्क हटलाइन नम्बर (१००) मा दिन आग्रह गरेको छ ।

चिनीको कालोबजारी, जम्माखोरी वा कृत्रिम अभाव सिर्जना गरेको पाइएमा त्यसको सूचना हेलो सरकार, प्रहरीको निःशुल्क हटलाइन १०० वा नेपाल प्रहरीको आधिकारिक सामाजिक सञ्जालमा जानकारी दिन आग्रह गरिएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो ।

उहाँका अनुसार चिनीको अभाव हुन नदिन प्रहरीका सम्पूर्ण इकाइ सक्रिय परिचालन गरिएको छ । तिहारको मुखमा बजारमा चिनीको कृत्रिम अभाव सृजना गरी चिनीको अभाव भएको जनगुनासो आएपछि सम्पूर्ण इकाइलाई सक्रिय परिचालन गरेको प्रवक्ता कडायतले बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय बजारमा चिनीको कृत्रिम अभाव सिर्जना गरिएको भन्ने खबर प्रहरीले बजारमा चिनीको आपूर्ति सहज बनाउन सबै उपाय लगाइने छ ।”

गत बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको सरोकारवालाहरुको बैठकले प्रहरी प्रशासन परिचालन गरेर आयातकर्ता र उद्योगमा चिनीको भण्डारण खोजतलास गर्ने र भेटिएको चिनी बजारमा पठाउने निर्णय गरिएको थियो । सो बैठकले अवैध ढङ्गले नेपाली बजारमा चिनी भित्रिएको र चर्को मूल्यमा करछली गर्दै बजारमा पठाइने गरेको निष्कर्ष निकाल्दै चिनीको कालोबजारी रोक्न राज्यका सम्पूर्ण निकायलाई परिचालित गर्ने निर्णय गरेको थियो ।

तिहारको समयमा चिनीका अभाव हुन नदिन एभरेष्ट सुगर मिल्समा मौज्दात रहेको तीन हजार मेट्रिक टन चिनी बजारमा पठाउन थालिएको छ । विभिन्न पेय पदार्थ उत्पादक कम्पनीका नाममा बिक्री भएर उद्योगमै मौज्दात रहेको उक्त परिणामको चिनी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको सक्रियतामा खुद्रा व्यापारी मार्फत बजारमा पठाउन लागिएको हो ।

बिहीबार गुह्येश्वरी ट्रेड लिङमार्फत एक सय ६० बोरा चिनी क्षेत्रपाटी, शोभाभगवती, पक्नाजोल र नरदेवीलगायत क्षेत्रका खुद्रा पसलमा बिक्रीका लागि पठाइएको नेपाल खुद्रा व्यापार सङ्घका कार्यवाहक अध्यक्ष नरेश खड्गीले जानकारी दिनुभयो । दसैँको समयमा माछा, मासु खाइने भएकाले चिनीको खासै आवश्यकता नहुने गरेको भएपनि तिहारको समयमा प्राय रोटीलगायतका चिज वस्तुका लागि चिनी आवश्यक पर्ने हुँदा दसैँभन्दा बढी तिहारमा चिनीको माग बढ्ने गरेको पाइन्छ ।

यसैगरी, भारतबाट २५ हजार मेट्रिक टन चिनी ल्याउन लागिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक तथा सूचना अधिकारी आनन्दराज पोखरेलले जी टु जीमार्फत चिनी ल्याउन लागिएको बताउनुभयो । उहाँले भन्नुभयो, “भारतबाट जीटूजी (सरकार–सरकार) मार्फत चिनी आउन लागेको हो । उक्त चिनी नेपालमा रहेका साल्टट्रेडिङ र खाद्य व्यवस्था व्यापार कम्पनीमार्फत बिक्रि बितरण गरिने छ ।”

भोलि (शनिबार) र आइतवार भारतमा सरकारी बिदा हुने भएकाले त्यसपछि मात्र चिनी आयात हुने उहाँको भनाइ छ । चाडपर्वको मौका छोपेर केही व्यापारीले चिनी लुकाएको आशङ्का गरी सरकारले चिनीका गोदाममा छापा मार्न प्रहरीलाई निर्देशन दिइसकेको छ । यस्तै, चिनीको अभाव हटाउन उद्योगीसँग मौज्दातमा रहेको चिनी पनि बजार पठाउन थालिएको जनाइएको छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?