टोलटोलमै पुगेर फूल बिक्री गर्दै किसान

गल्याङ :स्याङ्जाको गल्याङ तथा वालिङ बजारमा सयपत्री फूल तथा माला टोल टोलमा पुगेर बिक्री गर्न थालिएको छ । उत्पादन गरिएकै ठाउँबाट फूल बिक्री नभएपछि टोल टोलमा पुगेर फूल तथा माला बिक्री गर्न थालिएको हो ।

तिहारको समयमा धेरै बिक्री हुने सयपत्री फूलको माग बढेपछि व्यावसायिक रूपमा फूलखेती गर्ने बढेका छन् । तर उत्पादन भएको फूल समयमै बिक्री नभएपछि उत्पादक टोल टोलमा सवारीसाधन लिएर फूल बिक्रीमा निस्किएका हुन् । स्याङ्जाको गल्याङ नगरपालिका–३ छर्तिमा मौलाकालिका कृषि तथा पशुपालन फार्ममार्फत व्यावसायिक सयपत्रीको फूलखेती गर्दै आएका चन्द्रबहादुर राना ‘चित्र’ ले बेमौसमी रूपमा उत्पादन भएका फूलहरु फार्मबाटै बिक्री गर्छन् । तर ठूलो परिमाणमा फूल उत्पादन गरेका उनको फार्मबाट खासै बिक्री नभएपछि टोलटालमै पुगेर फूल बिक्री गरेका छन् । रानाले गल्याङ बजारका विभिन्न टोलका घरघर, पसलपसलमा फूल लगेर बिक्री गर्ने गरेको बताए ।

“बेमौसमी फूलको माग धान्न मलाई मुस्किल हुन्थ्यो, यसपाली तिहार लक्षित धेरै नै फूल लगाएकाले र यहाँका धेरै किसानले फूल उत्पादन गरेकाले फार्मबाट सयपत्री कम बिक्री भयो,” उनले भने, “तयार भएका फूल बिग्रेला कि भनेर टोलटोलमा पुगेर फूल बिक्री गर्ने गरेको छु ।” उनले गल्याङ बजारका आधादर्जन पसललाई फूल बिक्री गर्न दिएको छ भने गल्याङ बजारको गराङ्दीचोकमा सयपत्री फूलको मात्रै पसल राखेका छन् । 

गल्याङ नगरपालिका २  रैबारमा रहेको जगत्रदेवी बिरुवा उत्पादन तथा बिक्री केन्द्रका सञ्चालक प्रदीप पाण्डेले समयमै उत्पादित फूल बिक्री गर्नका लागि टोल टोलमा पुगेको बताए ।  “उपभोक्ताको सहजताका लागि पनि टोल टोलमा पुगेर फूल बिक्री गरेको हुँ,” उनले भने, “फार्ममा पनि प्रशस्त फूल रहेकाले थप बिक्रीका लागि टोलमा नै आउनु परेको हो ।”

यस्तै गल्याङ नगरपालिका– ११ का किसान रुमलाल कँडेलले पनि आफ्नो सवारी साधनमा राखेर टोलटोलमा पुगेर फूल बिक्री गर्दै आएका छन् । उनले माग भएका व्यक्ति तथा पसलमा पुगेर फूल बिक्री गरेको बताए । “फार्ममा जान उपभोक्तालाई असहज भयो,” उनले भने, “टोलटोलमा पुगेपछि माग गरेका र देखेका अरु ग्राहकलाई फूल बिक्री गर्न सहज भएको छ ।” उता वालिङमा पनि वालिङ कर्मचारी बचत तथा ऋण सहकारी संस्थाले उत्पादन गरेको सयपत्री फुल बिक्री गर्नका लागि सवारीसाधनमा फूल राखेर टोल टोलमा पुगिएको छ । 

सहकारीका अध्यक्ष दीपेन्द्र गैह्रेले आफ्नै ठाउँको उत्पादनलाई रोज्नका लागि उपभोक्तालाई आग्रह गरे ।   “यहाँ उत्पादन गरिएको फूल गुणस्तरीय छ,” उनले भने, “संस्थाको कार्यालयमा पनि फूल राखिएको छ, उहाँले उपभोक्ताको सहजताको लागि टोलमा पनि पुगेर फूल बिक्री गरिएको हो ।”

गल्याङ, वालिङ र मिर्मीका बजारका व्यापारीले यसपाली कृत्रिम फूलभन्दा सयपत्री फूल पसलमा राख्ने गरेका छन् । यद्यपि स्थानीय व्यवसायीले पर्याप्त फूल उत्पादन गरेपनि बाहिरबाट आउने प्लास्टिकका फूल पनि बजारमा देखिएको छ । फूल व्यवसायीले स्थानीय प्रशासनले प्लास्टिकका फुल बिक्री गर्न नरोक्दा आफूहरू समस्यामा परेको बताएका छन् । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?