बैटारीमा अकबरे खुर्सानीको व्यावसायिक खेती

तरकारी तथा फलफूलको आजको मूल्य [ सूचीसहित ]कुरीलो प्रतिकेजी

गोरखा:गोरखा नगरपालिका–१३ देउरालीस्थित बैटारीमा लामो समयदेखि बाँझो रहेको करिब एक सय तीन रोपनी जमिनमा अकबरे खुर्सानीको व्यावसायिक खेती गर्न सुरुआत गरिएको छ । स्थानीय कृषक जीतबहादुर भट्टले सिरुघारी फाँडेर गत माघदेखि खनजोत गरी व्यावसायिकरूपमा अकबरे खुर्सानीको खेती गरेका हुन् ।

अकबरे खुर्सानी खेतीबाट छिटो र मनग्य आम्दानी हुने भएकाले वर्षौँदेखि बाँझो बसेको जमिन भाडामा लिएर खेती गर्न थालेको उनले बताए । वार्षिकरूपमा रु एक लाख ५० हजारमा भाडामा लिएर खनजोत गरी अहिलेसम्म ७५ हजारभन्दा बढी अकबरे खुर्सानीको बेर्ना लगाइसकेको उनको भनाइ छ ।

यसका लागि उनले कालिका कृषक समूह फार्म दर्ता समेत गरेका छन्  । “अहिले करिब ४० रोपनी जमिनमा बेर्ना लगाइसकिएको छ, आफैँ नसर्रीमा उत्पादन गरेको बेर्ना लगाएको छु, अझै करिब ६३ रोपनीभन्दा बढी बाँकी जमिनमा रोप्नका लागि बेर्ना तयारी अवस्थामा छ”, उनले भने।

करिब रु चार लाख लगानीमा सुरु गरेको अकबरे खुर्सानी खेतीबाट वार्षिक रु ३७ लाखभन्दा बढी आम्दानी हुने अनुमान रहेको उनले बताए । “बेर्ना लगाएको पाँच महिनामा खुर्सानीको राम्रो उत्पादन सुरु हुन्छ”, उनले भने, “उत्पादन सुरु भएपछि एउटै बोटले तीन वर्ष राम्रोसँग उत्पादन दिन्छ ।” उनले चार जनालाई फार्ममा रोजगारीसमेत दिएका छन् ।

उत्पादित खुर्सानी बिक्रीका लागि बजारमा कुनै समस्या नभएको उनले बताए । “प्रतिकिलो बजारमा न्यूनतम रु दुई सय ५० मा सजिलै बिक्री हुन्छ”, उनले भने, “रातोमाटोमा उत्पादन हुने खुर्सानीको अरु माटोमा उत्पादन हुनेभन्दा अझ बढी स्वादिष्ट र पिरो हुने भएकाले पनि बजारमा यस क्षेत्रमा उत्पादन हुने अकबरे खुर्सानीको राम्रो माग छ ।”

किसान भट्टले आफूले उत्पादन गरेको खुर्सानी चितवनस्थित अचार उद्योगहरूमा धेरै बिक्री हुने बताए । त्यसबाहेक जिल्लाभित्रका गोरखा सदरमुकाम, काठमाडौँको कालिमाटी, तनहुँको खैरेनीटार, पोखरा,लगायतका क्षेत्रमा पनि बिक्री हुने गर्दछ । उनले कृषि ज्ञान केन्द्र गोरखाबाट प्राविधिक ल्याएर माटो परीक्षण गरी उक्त ठाउँमा  अकबरे खुर्सानीको खेती सुरु गरेका हुन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?