धानको भण्डारण तथा व्यवस्थापन
नेपालमा उत्पादनोपरान्त हुने ह्रास अन्य मुलुकको तुलनामा बढी हुने गर्दछ। खाद्यबालीमा करिब १० देखि १५ प्रतिशत उत्पादनोपरान्त ह्रास भएको पाइन्छ । प्रायः उत्पादन गरेको अन्नबालीको उपयुक्त व्यवस्थापन नहुँदा धेरै क्षति हुने गरेको पाईन्छ । बाली भित्र्याएपछि त्यसको सहि रुपमा भण्डारण गर्न नसक्दा समय समयमा विभिन्न रोग कीराले समस्या निम्त्याईरहेका हुन्छन् । अन्न भण्डारण पूर्व ध्यान दिनुपर्ने कुराहरुमा कमजोरी हुनाले असुरक्षित भण्डारण भई हामीले क्षति बेहोर्नुपर्ने हुन सक्छ ।
अन्न भण्डारणमा लाग्ने ढुसीजन्य रोग, मुसा सँगै पुतली,, घुनजस्ता कीराहरुले सरदर २५ देखि ३० प्रतिशत क्षति गराउने पाइएको छ । धान बाली काटे देखि भण्डारणसम्म उत्पादनमा ह्रास हुने भएकाले नोक्सानी कम गर्न काट्ने बेला देखिनै ध्यान पुराउनु पर्दछ ।धान बाली काटेको समयमा दानामा करिव २० देखि २५ प्रतिशत चिस्यान रहने हुदा यसलाइ काटेपछि २-३ दिन घाममा सुकाइ चुटानी गर्नु पर्छ । यसो गर्दा दानामा भएको चिस्यानको मात्रा कम हुन गई चुटानी गर्दा बालाहरुबाट धान सजिलैसँग झर्ने र नकाटिने हुन्छ । चुटानी गर्न ढिलो गर्दा धान खेतमै झरि नोक्सानि हुने गर्दछ । गुणस्तरिय बिउ उत्पादनको लागि प्रशोधन निकै जरुरी हुने भएकाले चुटानी गरेपछि धानमा रहेका पराल, डाँठ, झारपात, बिग्रिएको दाना, माटो, ढुङ्गा जस्ता बस्तुहरु हटाउनु जरुरि छ।
अन्न भण्डारण गर्नु पूर्व ध्यान दिनुपर्ने कुराहरुः-
• भण्डारण गर्नु भन्दा पहिले अनाजलाई राम्ररी सुकाउनु पर्छ,
• भण्डारणको समयमा अन्नमा चिस्यानको मात्रा १२ प्रतिशत हुनुपर्छ, सजिलो तरिकाले बुझ्दा अन्नलाई टोक्दा किटिक्क आवाज आयो भने भण्डारणको लागि उपयुक्त छ भनी बुझ्नुपर्छ,
• अन्न राख्ने ठाउँ सुख्खा, कम आर्द्रता भएको सफा हुनुपर्छ । यसका साथै हावाको राम्रो बन्दोबस्त भएको र पुरानो अनाज वा बीउ नभएको हुनुपर्छ,
• भकारी अथवा अन्न राखेको भाँडोलाई काठ वा फल्याकमाथि राख्नुपर्छ,
• स्टील तथा टीनका भाँडामा भण्डारण गर्दा भित्रबाट पेन्ट गरि राखेमा अन्न ओसिन पाउँदैन,
• भण्डारण गर्ने भकारी वा ढुकुटीलाई सफा गरेर प्वालहरु भएमा टालेर राम्रोसँग लिपपोत गरेर सफा बनाउनु पर्छ,
• भण्डारण कोठालाइ सफा गर्नु पर्छ।
भण्डारण गर्नका लागि विभिन्न आकार एवं किसिमका सामग्रीहरु प्रयोग गरिन्छ । यो माटो ,काठ ,बाँस, जुटको बोरा , इता आदि स्थानीय वस्तुको प्रयोग गरि निर्माण गरिन्छ । यद्यपि यसरी निर्माण गरियका सामाग्रीमा वायुरोधक क्षमता नहुने भएकाले लामो समय सम्म भणडारण सम्भब हुदैन। लामो समय सम्म भण्डारणका लागि टिनबाट निर्मित बाकस , साइलो आदि प्रयोग गर्न सकिन्छ ।मुसा नियन्त्रणका लागि भण्डारको सरसफाईमा ध्यान दिनुको साथै क्षतिको किसिम हेरी विषादीको पनि प्रयोग गर्न सकिन्छ ।पक्की भकारी, सुधारिएको भकारी र मेटल बिनको प्रयोगले धान भण्डारणमा हुने क्षति घटाउन सकिन्छ ।यस्तो भकारीमा अन्न ओसिन पाउँदैन, मुसाले खादैन र कीरा लागेमा धुवाउने विषको प्रयोग गर्न सकिन्छ ।
अन्न भण्डारणमा लाग्ने कीराहरु व्यवस्थापन गर्ने विधिः
जैविक विधि
आज भोलि बजारमा सजिलै उपलब्ध हुने भएकाले धान भण्डारणमा रासायनिक विषादीको प्रयोग गर्ने प्रचलन बढ्दो छ तर यसरी भण्डारण गरिएको अन्नको सेवनले स्वास्थ्यमा असर पर्छ। त्यसैले दीर्घकालीन र स्वास्थ्यमैत्री विधि प्रयोग गरी भण्डारणका तरिकाहरु अपनाउनुपर्दछ ।रासायनिक विषादीको विकल्पका रुपमा आफ्नै स्थानीय स्तरमा उपलब्ध हुने वनस्पतिहरु प्रयोगमा ल्याउन सकिन्छ र यिनै जैविक वनस्पतिको प्रयोगद्वारा अन्नबाली भण्डारणमा देखिने कीराहरुको व्यवस्थापन सजिलै गर्न सकिन्छ ।
तरिकाहरु:
१. धानमा लाग्ने घुनको लार्भाले अनाजभित्र पसेर खान्छ भने वयस्क घुनले बाहिरी सतहमा नोक्सान पुर्याउँछ।यसको नियन्त्रणको लागि १ भाग नीमको बीउको धुलो १०० भाग अनाजमा मिसाएर भण्डारण गरेमा ६ महिनासम्म सुरक्षित भण्डारण गर्न सकिन्छ
२. सुपर ग्रेन ब्याग (PICS) मा अन्न भण्डारण गरेर पनि सजिलै नियन्त्रण गर्न सकिन्छ । यस्तो ब्यागमा हावा तथा चिस्यानको वारपार हुन सक्दैन र रोग, किराहरुले आक्रमण गर्न सक्दैन।यदि किरा वा ढुसि पैदा गर्ने जीवाणुहरु भित्र छिरि हाल्यो भने पनि अक्सिजनको कमिले गर्दा सास फेर्न नपाएर मर्ने गर्दछन ।
३. बोझोको गानो सुकाएर बनाएको धुलोलाई पातलो कपडामा बाँधेर भण्डारण गरिएको अनाजको बीचमा राखिदिनाले धानको पुतली नियन्त्रण गर्न सकिन्छ ।
४. चैते धानमा सिमलीको हरियो पात तथा साना-साना डाँठहरुको प्रयोग गरि धानको पुतलीबाट जोगाउन सकिन्छ ।
५. अन्यः
• आधा माना बोझो, एक माना तितेपाती र एक माना टिमुर मिसाइ सुकाएर बनाइएको धूलो अन्न भण्डारमा प्रयोग गरी बचाउन सकिन्छ।
• नीमको दानाको धूलो १० ग्राम एक केजी धानमा मिसाउने ।
• टिमुरको पाकेको फलको धूलो ३ ग्राम एक केजी धानका दरले मिसाउने।
• असुरोको पातको धूलो १० ग्राम एक केजी धानमा मिसाएर राख्ने ।
• बोझोको गाना र खरानी एक ग्राम प्रति कि. जी. को दरले राख्ने ।
रासायनिक विधि
• बीउबिजनको प्रयोजनका लागि भण्डारण गरिएको खण्डमा कीरा नलागोस् भन्नका लागि सेल्फस २/३ चक्की मलमलको कपडामा बेरेर १ मेट्रिक टन अनाजमा ६ देखि १२ इन्च भित्र हावा नछिर्ने गरि बन्द गरेर राखेमा कीरा मर्दछ ।
• त्यस्तै, मालाथीयनको धुलो १-२ ग्राम प्रति के.जी. बीउका दरले प्रयोग गरेमा पनि अनाजमा लाग्ने कीराहरु नियन्त्रण गर्न सकिन्छ ।
अन्त्यमा, उत्पादन पछि धानको भण्डारण तथा व्यवस्थापनमा मात्र ध्यान दिन सकेको खण्डमा पनि यसले खाध्य सुरक्षामा निकै ठूलो टेवा पुर्याउँदछ।
(लेखक कृषि तथा वन विज्ञान विश्वविध्यालय, रामपुर, चितवनमा अध्यायनरत विध्यार्थी हुन्।)