समस्यामा किसान : बिक्री गरेको दुधको छ अर्बभन्दा बढी रकम बाँकी

काठमाडौँ: डेरी उद्योगीले बक्यौता रकम भुक्तानी नगर्दा दुध उत्पादन गर्ने किसान मर्कामा परेका छन् । डेरी उद्योगीले किसानलाई चार/पाँच महिनादेखि भुक्तानी दिएको छैन । किसानले डेरी उद्योगीबाट करिब छ अर्ब रुपियाँ भुक्तानी पाउनुपर्ने देखिएको छ ।

भुक्तानीको माग गर्दै शुक्रबार माओवादी केन्द्र निकट किसान सङ्गठन अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) राष्ट्रिय कृषक समूह महासङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ लि. नेपाललगायतका सङ्घ संस्थाले विज्ञप्ति जारी गरेका छन् । यी संस्थाले किसानको बक्यौता रकम भुक्तानी नगरे आन्दोलनमा जाने चेतावनी दिएका छन् । 

राष्ट्रिय कृषक महासङ्घका अध्यक्ष नवराज बस्नेतले उच्च मूल्यमा पशु आहार, दाना, ढुटो खरिद गरी पशुपालन गर्दै आएका किसानले बिक्री गरेको दुधको छ अर्बभन्दा बढी रकम महिनौँदेखि प्राप्त नगरेका कारण ती किसान मर्कामा परेको बताउनुभयो । 

सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डिडिसी) ले सबभन्दा बढी रकम बक्यौता राखेको उहाँले बताउनुभयो । डिडिसीका कर्मचारीको मिलोमतोमा विदेशी धुलो दुध आयात भएको दाबी गर्दै अध्यक्ष बस्नेतले सीमा क्षेत्रमा कम गुणस्तर र नक्कली दुध भित्र्याई बिक्रीवितरण गरिरहेको र नेपाली किसानको दुधको रकम भुक्तानी नगरेको दाबी उहाँले गर्नुभयो ।

केन्द्रिय दुग्ध सहकारी सङ्घ लि. नेपालका महासचिव रामप्रसाद आचार्यले उत्पादन गरेको दुधको भुक्तानी नपाएर किसान गाउँ गाउँमा छटपटाइरहेको बताउँदै सरकारले निर्धारण 

गरेको मापदण्डमा प्रत्येक किसानले महिनाको दुई पटक आफूले बिक्री गरेको दुधको भुक्तानी पाउनुपर्ने भए पनि कतिपय सहकारी संस्थाले दुई महिनादेखि पाँच महिनासम्मको भुक्तानी नपाएको बताउनुभयो ।

“दुध उत्पादन गर्ने किसानले लामो समयदेखि भुक्तानी नपाउँदा पेसाबाट विमुख हुनुपर्ने र चरम निराशा छाएको हुँदा पेसा व्यवसायबाट नै पलायन हुने अवस्था सिर्जना भएको उहाँले बताउनुभयो । डेरी उद्योगीले पर्याप्त दुध खरिद नगरेका कारण मिल्क होलिडेको अवस्था सिर्जना भएको उहाँले बताउनुभयो । किसानले भुक्तानी नपाए आफूहरू आन्दोलनमा जाने चेतावनी पनि उहाँले दिनुभयो । 

अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) का अध्यक्ष चित्रबहादुर श्रेष्ठले किसानको अर्बौं रुपियाँ बाँकी राखेर लज्जित बनाएको बताउनुभयो । उहाँले किसानको बक्यौता रकम दिलाउन सरकारसँग माग गर्नुभयो । 

डेरी उद्योगीका छाता सङ्गठन नेपाल डेरी एसोसिएनका अध्यक्ष प्रह्लाद दाहालले किसानले भन्दै आएको बक्यौता रकम कुन उद्योगीसँग कति कति बाँकी छ त्यो कुरा बाहिर आएपछि आफूले त्यसको भुक्तानी गराउन पहल गर्ने बताउनुभयो ।  यो आजको गोरखापत्र दैनिकमा समाचार छ ।  

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments