हराउँदै छन् परम्परागत काठका ठेकी

ठेकी

मन्थली (रामेछाप):रामेछापको मन्थली नगरपालिका–१३ फुलासीका धनबहादुर विश्वकर्माले काठको ठेकी बनाएर जीविकोपार्जन गर्दै आउका छन् ।

उनी धेरै मेहनतका साथ खोलाको पानीलाई डोहो¥याएर उच्च स्थानमा ल्याई त्यहाँबाट झरेको पानीको सहायताले काठका ठेकी बनाउँछन् । रामेछाप र दोलखाको सिमानाबाट बग्ने मिल्ती खोलाको पानीको साहाराले काठमा जीवन्त कला भरेर काँचो काठलाई आकारमा ढाल्छन् धनबहादुर।

दिनभर काम गर्दा पनि राम्रो अर्थोपार्जन नहुने भएपछि यो पेसा युवा पुस्ताले सम्हालेनन् र गर्ने अरुले पनि सबैले छोड्दै गएको उल्लेख गर्दै उनी भन्छन्, “मेहनत धेरै गर्नुपर्छ, कामअनुसारको आम्दानी हुँदैन । धेरै दुःख गर्नुपर्ने भएकाले नयाँ पुस्ताले यो पेसाप्रति चासो दिनै छाडे ।” पानी भएको खोल्साखोल्सीमा निर्माण गरिएको ठेकी भाँडा बनाउने ठाउ (चुँदारो) चिसोमा बस्नुपर्ने हुँदा स्वास्थ्य समस्याको जोखिम छ । “हाम्रो पुख्र्यौली पेसा सङ्कटमा पर्न थालेको छ । यसको संरक्षणमा सरकारले ध्यान दिए हुन्थ्यो ।

धनबहादुरले जोड दिए, “हामीले बलकै भरमा परम्परागतरूपमा काम गरिरहेका छौँ । बाउबाजेले जसरी गरे, हामीले पनि त्यसरी नै काम गर्दै आएका छौँ । आधुनिक उपकरण खरिद गर्नका लागि स्थानीय सरकार तथा सरोकारवाला पक्षबाट सहयोग आवश्यक छ तर यो पेसा संरक्षणमा कसैको पनि सहयोग छैन ।”

काठको सामग्री बनाउन दार, पँयले, लौठसल्ला, मौवा, कटहरलगायत रुखको काठ उपयोगी हुने बताइन्छ । उनका अनुसार पछिल्लो समय त्यस्ता काठसमेत अभाव हुँदै गएको छ । काममा त दुःख छँदैछ । अझ काठको पनि अभाव छ । गाउँले आफैँले काठ खोजेर ल्याए भने बनाउन सकिन्छ ।

परम्परागतरूपमा काठबाट बनेका ठेकी, पाथी र मानालगायत वस्तु लोप हुने अवस्थामा पुगेका छन् । परम्परागतरूपमा काठबाट निर्मित कलात्मक तरिकाले कुँदिएका दूध दुहुने ढुङ्ग्रो, दही जमाउने ठेकी, अन्न भर्ने पाथी र माना तथा घ्यू जमाउने हर्पे, मोही पार्ने घुर्रोजस्ता वस्तु उत्पादन भएर त्यतिकै मात्रामा गाउँमा बिक्री हुने गरेको थियो । अहिले गाउँमा ती वस्तु लोप हुने अवस्थामा पुगेका छन् ।

पहिला प्लास्टिक, सिलाबर र स्टिलबाट बनेका ठेकीजस्ता भाँडा भेट्न मुस्किल हुन्थ्यो । त्यसकारण काठबाट बनेका वस्तु बिक्री वितरण हुने गर्दथे तर अहिले जताततै प्लास्टिकका वस्तु प्रयोग भएकाले काठबाट बनेका वस्तु लोप हुन थालेको मन्थली नगरपालिका–१३ का ओमकार अधिकारीले बताए।

उनले भने, “पहिला प्लास्टिक, सिलाबर र स्टिलबाट बनेका भाँडाको सट्टामा गाउँकै सामुदायिक वन र व्यक्तिको बारीको कान्लामा हुने ठूलो रुख कटहर र दारका काठबाट ठेकी निर्माण गरिन्थ्यो तर अहिले गाउँमा काठको अभावमा यो पेसामा लाग्ने व्यक्तिसमेत पलाएन भइसके ।”

ठेकी व्यवसायी विश्वकर्माले भने, “अहिले सामुदायिक वनमा काठ काट्न पाइँदैन । अर्कातिर व्यक्तिको घर कान्लाका रुख पनि मासिँदै गए । पहिला पहिला काठबाट बनेका ठेकीको माग अत्यधिक हुन्थ्यो । अहिले गाउँघरमा भैँसीगाई पाल्नै छाडे । कसैले पालिहाले भने पनि दूध सिधै डेरीमा बिक्री गर्न थाले”, दही जमाउने माटका भाँडा तथा आधुनिक प्रविधि आएका कारण पनि यो पुस्तौँदेखि गर्दै आएको पेसा लोप हुन लागेको हो । पहिला ठेकी पु¥याउन नै गाह्रो हुन्थ्यो । अहिले बनेका ठेकीसमेत बिक्री नभएर घरमा थन्काउन बाध्य हुनुपरेको छ । घरमा सजावटका लागि केहीले किने भने मात्र नत्र ठेकीको व्यापार धेरै कम भइसक्यो ।

काठबाट बनेको ठेकीमा दूध जमाउँदा राम्रो र मिठो दही बन्ने गर्दथ्यो । काठको ठेकीमा पारेको मोही अत्यन्तै मिठो र स्वादिलो हुने गर्दथ्यो तर प्लास्टिक, सिलाबर र स्टिलबाट बनेका भाँडामा जमाएको दही, मही र घ्यूको स्वाद काठको ठेकीमा जमाएको जस्तो नहुने अर्का स्थानीयवासी माइकल चौहानले बताए ।

अर्का स्थानीयवासी माधव कार्कीले भने, “अहिले बजारमा जताततै प्लास्टिक, स्टिल र सिलाबरका सामान निस्किए तर पनि ती प्लास्टिक, सिलावर र स्टिलबाट बनेका भाँडामा राखेको दूध बिग्रने गरेको छ । काठबाट बनेको ठेकीजस्तो बजारमा पाइने आल्मुनियमका ठेकी हुँदैनन् । त्यतिमात्र होइन यस्ता भाँडामा जमाएको दूधबाट बनेका परिकारसमेत मानव स्वास्थ्यको लागि गुणकारी हुँदैन ।

विशेषगरी दलित समुदायको विक र सार्की जातिले मात्र अपनाएको यो पेसा सङ्कटमा पर्दै जाँदा उनीहरुको रोजीरोटी पनि खोसिँदै गइरहको छ । सरकारले यस्ता पेसालाई संरक्षण गर्नसके पछिल्लो पुस्ताले पनि ठेकीलगायत काठजन्य वस्तु उत्पादनका बारेमा जानकारी पाउने मन्थली माविका प्रधानाध्यापक टङ्कप्रसाद दाहालले बताए । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments