अलैँचीको विकल्पमा किवीखेती ,उत्पादन बढ्यो

फिक्कल: सन्दकपुर गाउँपालिका–३ का तारामणि सापकोटाले ४० रोपनी क्षेत्रमा किवीखेती गर्दै आएका छन् । किसान खतिवडाले सुरुमा लगानी धेरै भए पनि दिगो फाइदा लिन सकिने र बजार अभाव नहुने भएकाले किवीखेतीमा लागेको बताए ।

“किवीमा लगानी गर्दा फाइदा हुने बुझेपछि घरमै विरुवा उत्पादन गरी किवीखेती सुरु गरेको हुँ,” उनले भने । सोही वडाका अर्का किसान देवेन्द्र सुवेदीले अलैँची उत्पादन हुने पाँच रोपनी क्षेत्रमा किवीखेती गर्नुभएको छ । “अलैँचीको विकल्पका रुपमा किवीखेती विस्तार गरेको छु,” उनले भने, “अलैँचीमा विभिन्न रोग लाग्ने र मूल्यमा उतारचढाव हुन थालेपछि विकल्पमा किवीखेती गरेको हुँ ।” 

किवी प्रतिकिलो रु एक सयदेखि रु दुई सय ५० सम्म बिक्री हुने गरेको सन्दकपुर गाउँपालिका–५ जमुनाका किसान युवराज भट्टराईले बताए । “यहाँ उत्पादन गरिएको किवी बेच्नका लागि बजारको समस्या छैन । व्यापारीहरुले बगानबाटै गे्रडिङ गरी प्रतिकिलो रु ७० देखि रु एक सय सम्ममा खरिद गर्दछन् ।” उनले भने, “बजार पुर्याउन सकियो भने प्रतिकिलो रु दुई सय ५० सम्ममा सजिलै बिक्री हुन्छ ।” 

जिल्लामा किवी खेती गरिरहेका सापकोटा र सुवेदी प्रतिनिधि पात्र मात्र हुन् । किवी खेतीमा उनीहरु जस्तै किसानहरुको आकर्षण बढेपछि  किवी उत्पादन बढेकोे कृषि ज्ञान केन्द्र इलामले जनाएको छ ।  अघिल्लो वर्षको तुलनामा यस वर्ष ३२ दशमलव पाँच प्रतिशतले किवी उत्पादन बढेको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख रामजुगल यादवले जानकारी दिए । कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८०/८१ मा तीन हजार सात सय ७८ दशमलव आठ मेट्रिक टन किवी उत्पादन भएको छ ।

यस वर्ष आठ सय ९० हेक्टर क्षेत्रमा किवी खेती गरिएको छ । अघिल्लो आव ०७९/८० मा सात सय असी हेक्टर क्षेत्रमा किवी खेती गरिएकोमा दुई हजार आठ सय ५२ मेट्रिक टन किवी उत्पादन भएको थियो । किसानले करेसाबारीमा समेत किवी खेती गर्न थालेपछि उत्पादन वृद्धि भएको हो । 

गत आवमा उत्पादकत्व प्रतिहेक्टर तीन दशमलव ६५ थियो । चालु आवमा बढेर प्रतिहेक्टर चार दशमलव २५ पुगेको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा छ । एक बोटमा दुई सय किलोसम्म उत्पादन हुने किवी मकैबारी, चियाबारी र अलैँचीसमेत मासेर रोप्न थालिएको छ । रोपेको ३ वर्षदेखि उत्पादन दिने किवीले लगातार ५० वर्षसम्म उत्पादन दिने किसानको भनाइ छ । जिल्लाको इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका, माईजोगमाई गाउँपालिका, देउमाई नगरपालिका, फाकफोकथुम गाउँपालिका र माङसेबुङ गाउँपालिकाको माथिल्लो क्षेत्रमा व्यावसायिक किवी खेती हुँदै आएको छ ।  रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?