विदेश त्यागेर आफ्नै माटोमा रमाएका नवराज,पशुपालनबाट मासिक ८० हजार बचत
मध्यविन्दु (नवलपरासी), ३० चैत ः नवलपरासी (बर्दघाट सुस्तापूृर्व)को कावासोती नगरपालिका–१७ गोछडाका नवराज गौडेल विगत पाँच वर्षदेखि पशुपालनमा व्यस्त हुनुहुन्छ । रोजगारीका सिलसिलामा आठ वर्षे वैदेशिक रोजगारीमा बिताउनुभएका नवराज अहिले स्वदेशमै पशुपालनमा रमाउनु भएको छ ।
वैदेशिक रोजगारीमा रहँदा महिनाको रु ३० हजार कमाउने उहाँले अहिले पशुपालनबाट मासिक ८० हजार बचत हुने गरेको बताउनुभयो । गाउँघर छाडेर विदेशी भूमिमा १२ घण्टासम्म पसिना बगाउँदा पनि परिवार पाल्न धौधौ भएपछि आफ्नै माटोमा कृषि तथा पशुपालन गर्ने अठोटका साथ व्यवसाय सुरु गरेको गौडेलले बताउनुभयो ।
“आठ वर्ष विदेश बसेर पनि सोचे जस्तो आम्दानी नभएपछि नेपालमै पसिना बगाउने सोच आएको हो”, उहाँले भन्नुभयो, “अहिले घरपरिवारसँग दःुख गर्दै खर्च कटाएर महिनाको ८० हजारसम्म जोगाउन सकेको छु ।” रु सात लाखको लगानीमा विसं २०७५मा गौडेल गाई तथा कृषि फार्म स्थापना गरी २३ वटा गाईबाट सुरु भएको व्यवसायले सबै लगानी उठाएर फाइदा दिन थालेको छ । गाईभैँसीको आहारका लागि सात कठ्ठा जमिनमा उन्नत जातको घाँस खेती गरी यसलाई नियमित र दिगो वनाउन थालिएको गौडेलले बताउनुभयो ।
“बिहान ४ बजेदेखि साँझ ७ बजेसम्म समय तालिका अनुसार श्रीमान् र श्रीमती मिली गाईभैँसीको स्याहारसुसारदेखि दूध बिक्रीमा खटिने गरेका छौँ”, उहाँले भन्नुभयो । आफ्नै गाउँघरमा परिवारसँग मेहनत गर्न पाउँदा नवराज खुसी हुनुहुन्छ । साँझ बिहान परिवारसँगै दुःख बिसाउँदै स्वदेशमै केही गर्न चाहनेका लागि पशुपालन अझै पनि राम्रो विकल्प रहेको उहाँको सुझाव छ ।
विदेशको भूमिमा तातो घाममा पसिना बगाउने दुःखको केही अंश मात्र स्वदेशमा मेहनत गर्ने हो भने राम्रो आम्दानी गर्न सकिने गौडेलले बताउनुभयो । पाँच वर्षको पशुपालन अनुभवमा पछिल्लो वर्ष पशुमा देखिएको लम्पी स्किन रोग र मिल्क होलिडेले केही समस्या सिर्जना गरे पनि व्यवसाय सम्हालिएको छ । लम्पी स्किन रोगबाट दुई वटा गाईलाई असर गरे पनि नियमित सरसफाइ र औषधि उपचारले क्षति हुन नपाएको गौडेलले बताउनुभयो ।
घाँस परालको लागि कुनै समस्या नभए पनि दाना चापटको मूल्य निरन्तर बढिरहँदा किसानलाई मर्का परेको उहाँको गुनासो छ । “दाना चापटको मूल्य निरन्तर बढदो छ, भारतबाट दूध पनि नेपाल भित्रिदा यहाँ उत्पादन भएको दूधले बजार नपाउने अवस्था सिर्जना भयो”, उहाँले भन्नुभयो, “राज्यले यस्ता कुरामा नियमन गरे किसानलाई मार पर्दैनथियो ।”