दुहवीमा साप्ताहिक हाटबजार सुरु

जनकपुर, ११ वैशाखः धनुषाको दुहवीमा विवादका कारण बन्दभएको हाटबजार लामो समयपछि सञ्चालनमा आएको छ । विदेह नगरपालिका–२ स्थित दुहवी गोवराही चोकमा बन्द रहेको साप्ताहिक हाटबजार सञ्चालनमा आएको सो नगरपालिकाका प्रमुख वेचन दासले जानकारी दिनुभयो ।

स्थानीयबीचको विवादका कारण हाटबजार २०७६ सालदेखि बन्द थियो । हाटबजार बन्द भएको कारणले त्यहाँका बासिन्दालाई आफ्नो उत्पादित सामान खरिद बिक्रीका लागि टाढाका बजार जानुपर्ने बाध्यता थियो । हाटबजार सञ्चालनमा आएपछि स्थानीयलाई सामग्री विक्रीवितरण गर्न सजिलो भएको छ । हाटबजार आइतबार, बुधबार तथा शुक्रबार गरी तीनदिन सञ्चालन हुने बताइएको छ । पहिला पनि तीन दिन नै हाटबजार लाग्ने गरेको थियो ।

विदेह नगरपालिकाका कार्यपालिका सदस्य सत्रुधन रायका अनुसार चारवर्ष अगाडि हाटबजार लाग्न छाडेपछि स्थानीयलाई धेरै समस्या परेको थियो । हाटबजार सञ्चालनका लागि विदेह नगरपालिका पदाधिकरीले विवादित विषयमा सम्बन्धित निकायसँग छलफल पश्चात हाटबजार सुरु गरिएको उहाँले भन्नुभयो ।

नगरप्रमुख दासले हाटबजार सञ्चालनले स्थानीय उत्पादनले बजार पाउँदा किसान आर्थिकरुपले सवल र आत्मनिर्भर हुने बताउनुभयो । हप्तामा तीनदिन लाग्ने सो बजारमा भारतीय व्यवसायीसमेत आफनो उत्पादित सामग्री खरिद बिक्रीका लागि आउने गरेको थियो । यो हाटबजारले नगरपालिकासमेतलाई आम्दानी हुने बताइएको छ ।

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments