खडेरीले मकै सुक्दा किसान चिन्तित

ढोरपाटन (बागलुङ), २३ वैशाख : लामो समयदेखि परेको खडेरीले बारीमा लगाएको मकै सुक्न थालेपछि बागलुङका किसान चिन्तित बनेका छन् । चैत पहिलो साता लगाएको मकै बारीभरि उम्रिएका छन् । झण्डै चार महिनादेखि वर्षा नभएपछि कुटाउने बेलाका मकै सुक्न थालेका हुन् । बागलुङमा खासगरी चैत र वैशाख महिनामा मकै छर्ने गरिन्छ । माथिल्लो भेगमा चैत पहिलो सातादेखि मकै छर्ने चलन छभने तल्लो क्षेत्रमा वैशाख दोस्रो सातासम्म मकै छर्ने गरिन्छ । चिसो हावापानीका कारण उच्च क्षेत्रमा एक महिनाअगाडि नै मकै लगाउने गरिएको हो ।

बागलुङको काठेखोला गाउँपालिकाअन्तर्गत रेश, कादेस, लेखानीसहित जिल्लाको १० वटै पालिका चैत र वैशाख महिनामा मकै लगाउने चलन छ । खडेरीका कारण माथिल्लो क्षेत्रमा उम्रिएका मकैका बिरुवा धमाधम सुक्न थालेका छन्भने तल्लो क्षेत्रका किसान मकै छर्नका लागि वर्षाको पखाईमा छन् । काठेखोला गाउँपालिका–७ रेश बौडेचौरका किसान कुवीर थापाले गाउँलेले चैतमा मकै छरेर सकेको सुनाउँदै महिनौँदेखि पानी नपर्दा उम्रिएको मकै कामै नलाग्ने गरी सुकेको बताउनुभयो । परम्परादेखि नै यस क्षेत्रमा चैतमा मकै छर्ने चलन रहेको उहाँको भनाइ छ । बारीमा लगाएको मकै मर्न थालेपछि आफूहरुलाई बीउ बचाउन पनि मुस्किल भएको थापाले सुनाउनुभयो ।

“यो वर्ष निकै लामो समय खडेरी प¥यो, चैतमा बारी चिसो–चिसो थियो, त्यसले गर्दा मकै छरियो तर अहिले किन छरिएछ भन्ने भएको छ, यतिका समयसम्म पानी पर्ने छाटकाँट छैन, उम्रिएको मकै सबै सुकेर सकिन थाल्यो,” थापाले भन्नुभयो, “यति बेला पानी परे त निकै राहत हुने थियो, मर्न लागेका मकै पनि पलाउने थिए, अहिले त बीउ नै बचाउन नसकिने डर भयो, दिनदिनै घाम मात्रै चर्किन्छ, धाराको पानी लगाएर मकै बचाउन सक्ने सम्भावना पनि छैन ।”

पानी नपर्दा आफूले १७ मुरी फल्ने बारीमा लगाएको मकै सबै नष्ट भएको स्थानीय प्रेमबहादुर क्षेत्रीले बताउनुभयो । खडेरीले सबै नष्ट भएपछि पानी परे पुनः मकै छर्नुपर्ने स्थिति आएको उहाँको भनाइ छ । मकैसँगै बारीको तरकारी पनि सुक्न थालेको क्षेत्रीले बताउनुहुन्छ । यस वर्षको जस्तो लामो खडेरी अहिलेसम्म नभएको सुनाउँदै अझै केही समय पानी नपरे भोकमरी लाग्न सक्ने उहाँले बताउनुभयो । खडेरीले सबैभन्दा बढी मारमा किसान परेको क्षेत्रीको भनाइ छ ।

ढोरपाटन नगरपालिका–२ का नितेश विकले पानी नपर्दा मकै छर्न नपाएको बताउनुभयो । वैशाख पहिलो सातादेखि तेस्रो सातासम्म मकै छरी सक्नुपर्ने भए पनि खडेरीका कारण कुनै पनि किसानले बाली लगाउन नपाएको उहाँको भनाइ छ । खडेरीका कारण मुहान र खोलानाला सुक्दै गएपछि खानेपानीको समेत समस्या हुन थालेको विकले बताउनुभयो । दिनप्रति दिन आगलागी हुँदा वायु प्रदूषण हुँदै गएको र वन जङ्गलमा ठूलो क्षति पुगेको उहाँले बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?