धान रोप्ने खेत मासेर केरा खेतीमा नरेन्द्र

वेदकोट (कञ्चनपुर), २३ वैशाख : कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा जमिनमा केराखेती लगाउनुभएको छ । उहाँले दशवर्ष अघिदेखि केराखेती सुरु गर्नुभएको हो । अहिले मुख्य आम्दानीको स्रोत केरा खेती बनेको छ । सुरुमा धान, गहुँ जस्ता अन्नबाली लगाउने खेत मासेर उहाँले केरा रोप्नुभएको हो ।

“सुरुमा तीन कट्ठा जग्गामा केरा लगाएँ । त्यसबेला बीउ पाइँदैनथ्यो, केराको बोटको गाना लगाउने गरिन्थ्यो,” उहाँले भन्नुभयो, “उत्पादन राम्रो भयो, त्यसपछि खेतीको क्षेत्रफल बढाएँ ।”

धान, गहुँ भन्दा फाइदा हुन थालेपछि अन्नबाली छोडेर उहाँ व्यावसायिक केरा खेतीमा लाग्नुभएको हो । तिलाचौरमा उहाँको दुई बिघा जमिन छ । त्यसमध्ये डेढ बिघामा केरा खेती गर्नुभएको छ । केरा खेतीमा नरेन्द्र र उहाँको श्रीमती आफै खटिनुहुन्छ ।

“धान, गहुँ भन्दा आम्दानी राम्रो छ । केरा स्थानीय बजारमा सहजै बिक्रि हुने गरेको छ,” उहाँले भन्नुभयो, “गोडमेलमा परिवारकै मानिस लाग्छौँ । आवश्यक परे कहिले मजदुर पनि लगाउने गरेका छौँ ।”

उत्पादित केरा यहाँको महेन्द्रनगर बजारमा बिक्री गर्ने गरिएको छ । केरा खेतीबाट वार्षिक रु चार लाखसम्म आम्दानी हुने गरेको नरेन्द्रको भनाइ छ । उहाँको दुई छोराछोरीसहित चार जनाको परिवार छ । केरा खेतीबाट कमाएकै पैसाले उहाँले जेठी छोरीको विवाह गर्नुभयो ।

कान्छा छोरा रोशनलाई इन्जिनियर बनाउने उहाँको सपना छ । गाउँकै युवा वर्ष माध्यमिक विद्यालयबाट एसएसलसी परीक्षा उत्तीर्ण गरेपछि छोरा रोशनलाई तीन वर्षदेखि पोखरामा इन्जिनियरिङ अध्ययन गराइरहनुभएको छ । “छोराले आंशिक छात्रवृत्तिमा नाम निकाल्यो । खेतीबाट हुने आम्दानीले छोराको बस्न, खान र पढाइको खर्च जोहो गरिरहेका छौँ,” नरेन्द्र भन्नुहुन्छ, “वार्षिक रु दुई अढाई लाख उसका लागि छुट्याउनुपर्छ ।”

उहाँले बाख्रा र भैँसी पनि पाल्नुभएको छ । पशुपालनबाट हुने आम्दानीले घरखर्च त्यहाँबाट व्यवस्थापन हुने गरेको उहाँले बताउनुभयो । वर्षौंदेखि केरा खेतीमा लागे पनि अहिलेसम्म सरकारबाट पाउने अनुदान तथा बीउविजन, मलखादमा केही नपाएको उहाँको गुनासो छ । कञ्चनपुरमा एक सय ५० हेक्टरभन्दा बढी क्षेत्रफलमा केरा खेती गरिन्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?