पौष्टिक तत्वयुक्त चामल बिक्री दर बढ्यो
काँक्रेविहार (सुर्खेत):
चालु आर्थिक वर्षमा सुरु भएको पौष्टिक तत्वयुक्त चामल बिक्री दर ह्वात्तै बढेको प्रदेश कार्यालयका प्रमुख माधव मिश्रले बताउनुभयो । उहाँका अनुसार डोल्पामा दुई हजार पाँच सय ७२, मुगुमा दुई हजार दुई सय ५५, जुम्लामा एक हजार ४६, कालीकोटमा एक हजार चार सय ८९ क्विन्टल र हुम्लामा चार हजार छ सय ५३ क्विन्टल पौष्टिक तत्वयुक्त चामल वितरण भएको छ । हालसम्म १२ हजार १६ क्विन्टल चामल बिक्री भएको उहाँको भनाइ छ । नेपालगञ्जमा दुई सय १०, सुर्खेतमा दुई सय ३७, राजापुरमा सात सय आठ क्विन्टल चामल मौजदात रहेको उहाँले जानकारी दिनुभयो ।
प्रदेशभरि ७० हजारभन्दा बढी चामल बिक्री गर्ने लक्ष्य रहेको प्रदेश कार्यालयले जनाएको छ । शाखा कार्यालय मुगुले पौष्टिक चामल वैशाखदेखि बिक्री गर्न थालेको हो । मुगुका कार्यालय प्रमुख राजबहादुर राईले आठ वटा पौष्टिक तत्व मिलाएर राजापुर मिलबाट चामल उत्पादन भइरहेको बताउनुभयो ।
सुत्केरी महिला, बालबालिका र ज्येष्ठ नागरिकले पोषणयुक्त खानपिन नपाउने भएकाले सो पौष्टिक चामल लाभदायक हुने गरेको छायाँनाथ रारा नगरपालिका-७ की स्थानीय कल्लीकला रावलले बताउनुभयो । जिल्लाको खाद्य कार्यालयबाट चामल बजार दररेटभन्दा धैरे सस्तोमा पाउने भएकाले चामल लिन उपभोक्ताको भीड हुने गरेको छ ।
खाद्यव्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको निर्देशिका अनुसार साविकको कर्णालीका पाँच जिल्लामा सुत्केरीलाई आमा र बच्चाको स्याहारसुसारका लागि २५ केजी पौष्टिक चामल अनुदानमा दिने व्यवस्था छ । ७३ हजार क्विन्टल चामलमा पौष्टिक तत्व मिलाएर उत्पादन गरिने कम्पनीले जनाएको छ ।
निमित्त प्रमुख मिश्रका अनुसार साविकको कर्णालीमा मात्र पहिलो चरणमा भए पनि आउँदो आर्थिक वर्षमा कर्णालीका सबै जिल्लामा उक्त चामल बिक्री गरिनेछ । दैनिकरूपमा खाइने चामलमा सामान्य विधिबाट भिटामिन तथा खनिज तत्व मिसाएर बनाइन्छ ।
हाल ‘एक्स्टुजन’ विधिबाट चामलमा पौष्टिक तत्व स्तरोन्नति भइरहेको छ । यस विधिमा भिटामिन र खनिजको मिश्रणलाई चामलको पिठोमा मिलाइ ‘एक्स्टुजन’ मेसिनबाट चामलको जस्तै आकार र रङ हुनेगरी उत्पादन गरिन्छ । स्तरोन्नति गरिएको चामलमा आइरन, जिङ्क, भिटामिन ‘ए’, फोलिक एसिड, भिटामिन बी-१२, थायमिन, नियासिन, पाइरिडक्सिन मिसाएर तयार गरिन्छ ।
दोस्रो चरणमा अन्य जिल्लामा वितरण गरिने भएको छ । खाद्यविज्ञका अनुसार पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल साथसाथै दाल, तरकारी र फलफूल, माछा, मासु, दूधजन्य परिकार आदि मिलाएर उपयोग गरेमा शरीरलाई आवश्यक पौष्टिक तत्व प्राप्त हुन्छ । चामलको गुणस्तरसम्बन्धी मापदण्डअनुसार स्तरोन्नति गरिएको प्रतिकिलो चामलमा आइरनको मात्रा ३९ देखि ७२ मिलिग्राम, जिङ्क ३२ देखि ५९ मिलिग्राम, भिटामिन ‘ए’ शुन्य दशमलव ८९ देखि दुई दशमलव २१, फोलिक एसिड शुन्य दशमलव २४ देखि शुन्य दशमलव ५९ र भिटामिन बी-१२ भने शुन्य दशमलव ००७ देखि शुन्य दशमलव ०२० मिलिग्राम हुनुपर्नेछ । पौष्टिक तत्व स्तरोन्नति गर्दा आइरनको स्रोतका लागि फेरिक पाइरोफोस्फेट, जिङ्क स्रोतका लागि जिंक अक्साइड, भिटामिन ‘ए’को स्रोतका लागि रेटिनाइल पाल्मिटेट वा रेटिनाइल एसिटेट, फोलिक एसिड, भिटामिन बी-१२ को स्रोतका लागि साइनोकोबलामाइनजस्ता स्वरूपका यौगिक थप गर्न सकिने मापदण्डमा उल्लेख छ ।
नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार ४३ प्रतिशत पाँच वर्षमुनिका बालबालिका, ३४ प्रतिशत रक्तअल्पताले गम्भीर जनस्वास्थ्य समस्याको सिकार भइरहेका छन् ।
