बागमतीका छ जिल्लामा करिब ८० प्रतिशत विषादी खपत, गम्भीर स्वास्थ्य समस्या बढ्दै

बागमती, ६ असार : कृषि उत्पादन बढाउन मकवानपुरसहित बागमती प्रदेशका छ जिल्लामा करिब ८० प्रतिशत रासायनिक विषादीको खपत हुने गरेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले हेटौँडामा आयोजना गरेको बढ्दो विषादी न्यूनीकरण तथा पोषण सुधारका लागि सरोकार भएकासँगको अन्तक्र्रियामा कृषि विकास निर्देशनालयका बाली संरक्षण अधिकृत तीर्थराज पौडेलले नेपालमा आयात हुने विषादीमध्ये करिब ७० देखि ८० प्रतिशत मकवानपुर, धादिङ, काभ्रेपलाञ्चोक र उपत्यकाका तीन जिल्लामा खपत हुने गरेको जानकारी दिनुभयो ।

नेपालमा बर्सेनि १० देखि १२ प्रतिशतसम्म रासायनिक विषादीको प्रयोग बढेको जनाउँदै उहाँले सबैभन्दा बढी ८५ प्रतिशत विषादी तरकारी तथा फलफूलमा प्रयोग हुने गरेको पाइएको बताउनुभयो ।

किसानले कीरा नियन्त्रण गर्न मालाथियन, साइपरमेथ्रिन, फनभालरेट, डाइक्लोरोभस, ढुसी नियन्त्रण गर्न म्यानकोजेव, कार्वान्डाइजिम, कपरओक्सी, क्लोराइड, वेनोमिल, डाइनेक्याप तथा झारपात नियन्त्रण गर्न न्यूटाक्लोरा, २–४ डी, पाराक्वाइट, ग्लाइकोसेटलगायतका विषादीहरूको प्रयोग गर्ने गरेका बाली संरक्षण अधिकृत पौडेलको भनाइ छ ।

उत्पादन बढाउने नाममा देखासिकी, लहैलहै वा प्रतिस्पर्धामा जथाभावी विषादीको प्रयोग गर्दा कृषि उत्पादनको उत्पादन लागत बढ्नुका साथै वायु, माटो र जल प्रदूषणका साथै जलवायु परिवर्तनको समस्या बढ्दै जाने उहाँले बताउनुभयो ।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिझारले बढ्दो रासायनिक मल र विषादीको प्रयोगका कारण मानवमा क्यान्सर, ट्युमर, प्रजनन स्वास्थ्यमा समस्या, सुस्त मनस्थिति, अपाङ्गता भएका शिशु जन्मिने, वङ्शानुगत परिवर्तन, उच्च रक्तचाप, श्वासप्रश्वास, कलेजोमा खराबीलगायत गम्भीर स्वास्थ्य समस्या बढ्दै गएको बताउनुभयो ।

विषादीका कारण मानव स्वास्थ्य जोखिम परेकाले यसलाई नियन्त्रण गर्न सबै पक्षको सक्रियता आवश्यक रहेको उल्लेख गर्दै उहाँले किसान तथा आमजनतामा जीवनाशक विषादीको प्रयोगलाई निरत्साहित गर्न सचेतना जगाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलानले बढ्दो विषादी नियन्त्रणका लागि स्थानीय तहले आवश्यक बजेट तर्जुमा गरेर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । किसानलाई अग्र्यानिक कृषि उत्पादनमा जोड दिन सीप र ज्ञानसम्बन्धी तालिम र अनुदान उपलब्ध गराउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?