गाई पालन प्रवर्द्धन गर्न कृषकलाई अनुदान

मनहरी (बागमती), १० असार : हेटौँडा उपमहानगरपालिकाले गाईपालन प्रवर्द्धन कार्यक्रमअन्तर्गत पदमपोखरीका कृषकलाई आवश्यक सामग्री हस्तान्तरण गरेको छ ।

हेटौँडा उपमहानगरपालिकाको आर्थिक वर्ष २०८०/८१ मा स्वीकृत वार्षिक बजेट अनुसार प्रदेश सरकारबाट हस्तान्तरित सःशर्त अनुदान कार्यक्रमबाट ८२ जना पशुपालक कृषकलाई सामग्री वितरण गरिइएको होे ।

नगर प्रमुख मीनाकुमारी लामाले पशुमा लाग्ने विभिन्न लम्पी, खोरेत रोगको सङ्क्रमणको समयमा आवश्यक हुने स्प्रे पम्प, काउ म्याट, घाँस काट्ने मेसिन, गाई नुहाउने मेसिन, पानी ट्याङ्कीसहितको सामग्री वितरण गरिएको बताउनुभयो । गाई प्रवर्द्धन कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा सामग्री प्रदान गरिएको र यसले उत्पादनसँग जोडिँदै आयआर्जनमा लाग्न कृषकलाई सहयोग पुग्ने उहाँले बताउनुभयो ।

पूर्वाधारको विकाससँगै उत्पादनसँग जोडिएर अघि बढ्न र सामग्रीको प्रयोग गरी दुग्ध उत्पादनमा काम गर्दै आयआर्जनमा बढावा दिन अनुदान कार्यक्रमले टेवा पुग्ने जनाइएको छ ।

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments