बाँदरले दुःख दिएपछि कृषियोग्य जमिनमा घाँसखेती

गलकोट (बागलुङ),१४ असारः

जिल्लाको जैमिनी नगरपालिका-८ छिस्ती फुर्केसल्लाका ६१ वर्षका रघुनाथ पौडेलले गत वर्षमात्रै १० रोपनी खेतीयोग्य जग्गामा बहुवर्षे घाँसखेती थाल्नुभयो ।

बाँदरका कारण अन्नबाली हुन छाडेपछि यहाँ तीव्र बसाइँसराइ छ । बसाइँसराइका कारण फुर्केसल्लाका अधिकांश गाउँका खेतीयोग्य जमिन बाँझिएका छन् । ती बाँझिएका जग्गामा पौडेलले घाँसखेती गरेर पशुपालन गर्दै आउनुभएको छ । गाउँलेले छोडेको १० रोपनी जग्गामा आफूले घाँसखेती गरिरहेको उहाँको भनाइ छ ।

“फुर्केसल्लाका अधिकांश घर खाली हुन थालेका छन्, बाँदरले सताएपछि अधिकांश जग्गा बाँझो छ, अन्नबाली गर्न छाडेपछि बाँझो जग्गा सदुपयोग गर्ने उत्तम विकल्प घाँसखेती रहेछ घाँसखेतीबाट पशुपालन गर्दा अन्नबालीभन्दा बढी नाफा हुने रहेछ”, पौडेलले भन्नुभयो । उन्नत जातको बहुवर्षे घाँसखेतीका लागि पशु विज्ञ केन्द्रलेसमेत प्रोत्साहन गर्दै आएको छ । उहाँले यस वर्ष मात्रै रु ३० हजार अनुदान पाएको सुनाउनुभयो ।

घाँसमा आधारित पशुपालनले दूधको उत्पादन लागत घटाएको उहाँको भनाइ छ । हाल उहाँले भँैसी र गाईपालनबाट दैनिक ४० लिटर दूध बजार पठाउँदै आउनुभएको छ । गाउँमा बाँदर आतङ्क बढेपछि यहाँका किसानहरु घाँसखेतीतर्फ आकर्षित भएका हुन् । घाँसमा आधारित पशुपालनले आम्दानी बढाउने भन्दै उहाँले दूध बिक्रीबाट मात्रै मासिक रु एक लाखदेखि रु एक लाख ५० हजारसम्म आम्दानी हुने गरेको बताउनुभयो ।

जैमिनी नगरपालिका–१ टुनीबोटका रुद्रनाथ शर्माले पनि पशुपालन गर्दै आउनुभएको छ । कूल ४० घर रहेका टुनिबोटका अधिकांश स्थानीय बसाइँ सरेर चितवन र सदरमुकाम पुगेपछि उनीहरुको बाँझो जग्गामा घाँसखेती गरिरहनुभएको छ ।

टुनिबोटमा चार वर्षअघि आएको पहिरोले यहाँका छ घरमा क्षति पुगेको थियो । दुई जनाको ज्यानसमेत गयो । त्यसपछि केहीले बसाइँ सरेर चितवन झरे । बसाइँसराइ गर्ने अर्को मुख्य कारण बाँदर आतङ्क पनि हो ।

बाँदरले सताएपछि यहाँका किसानले अन्नबाली लगाउनै छोडेका छन् । बाँदरले सताउन थालेपछि धमाधम घाँसखेती गरेर पशुपालन गर्न थालिएको उहाँले बताउनुभयो ।

बसाइँ सरेर चितवन गएका स्थानीय कीर्तिनाथ पौडेलको १५ रोपनी जग्गा भाडामा लिएर शर्माले घाँसखेती र पशुपालन गर्नुभएको छ । उहाँले दैनिक ४० लिटर दूध सहकारीमार्फत बजारीकरण गर्दै आउनुभएको छ ।

“अन्नबाली व्यावसायिक थिएन, बाँदरका कारण विकल्पमा घाँसखेती देखियो, घाँसमा आधारित पशुपालन व्यवसायबाट मुनाफा राम्रो आएपछि अन्नकोभन्दा फाइदा देखियो, बाँदरको समस्या ट¥यो”, शर्माले भन्नुभयो, “नेपियर र कान्लामा सिबोसिटिया र मोलाटो जातको घाँस लगाएको छु, घाँसखेती गरेपछि बाँदर के खान आउने भो र ।”

उहाँले वार्षिक रु २५ हजार भाडा तिरेर घाँसखेती गरिरहनुभएको छ । घाँसखेती र दूध बिक्रीबाट उहाँले वार्षिक रु १० लाखसम्म कमाइ गरिरहनुभएको छ ।

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments