मौरी विकास पकेट क्षेत्रमा अनुदानमा लिचीका बिरुवा

कञ्चनपुर, २० असार : मौरी विकास पकेट क्षेत्रका किसानलाई विशेष प्राथमिकतामा राखेर जिल्लाको कृष्णपुर नगरपालिकाले ५० प्रतिशत अनुदानमा सिडलेस लिचीका दुई हजार चार सय बिरुवा वितरणको गरेको छ ।

नगरपालिकाको कृषि विकास शाखाले चालु आर्थिक वर्षको वार्षिक स्वीकृत बर्खे फलफूलका बिरुवा वितरण कार्यक्रमअन्तर्गत लिचीका बिरुवा वितरण गरेको हो ।

बजारमा लिचीका प्रतिबिरुवाको मूल्य रु दुई सय बढी रहेकामा रु ७५ मा बिरुवा खरिद गरी किसानलाई सोको आधा मूल्यमा उपलब्ध गराइएकोे नगरपालिकाको कृषि विकास शाखाका प्रमुख लालबहादुर धामीले जानकारी दिनुभयो ।

“बिरुवा वितरणका लागि पहिलो प्राथमिकतामा कृष्णपुर–१ दोमिल्ला, कुमगडा, वडा नं २ को खल्लागोठ, वडा नं ४ को किंचाई, बैलकुण्डी र मालुवेलाका मौरीपालनमा लागेका किसानलाई राखेका छौँ”, उहाँले भन्नुभयो, “त्यसपछि अन्य फलफूलखेती गर्न इच्छुक किसानलाई उपलब्ध गराएका छौँ ।”

लिचीका फूलबाट मौरीले राम्रो मह सङ्कलन गर्ने भएकाले मौरी पकेट क्षेत्रका किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले पहिलो प्राथमिकतामा राखी बिरुवा वितरण गरिएको शाखा प्रमुख धामीले बताउनुभयो । मौरी पकेट क्षेत्र बाहिरका फलफूलखेती गर्ने किसानलाई माग र आवश्यकताका आधारमा बिरुवा उपलब्ध गराइएको उहाँको भनाइ छ ।

“रु एक लाख बजेटमा शाखाले लिचीका बिरुवा खरिद गरेको हो । खरिद गरिएका बिरुवा पचास प्रतिशत अनुदानमा दुईवटाका दरले एक हजार दुई सय किसानलाई वितरण गरिएको छ”, शाखा प्रमुख धामीले भन्नुभयो । उहाँका अनुसार बाह्य क्षेत्रबाट आयात हुने फलफूललाई विस्थापन गरी स्थानीय उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले नगरपालिकाले प्रत्येक वर्ष किसानलाई फलफूलका बिरुवा वितरण गर्दै आएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?