दूध बिक्री गरेर मासिक एक लाख कमाइ लिदै पौडेल परिवार

गलकोट (बागलुङ), २० असार : बसाइँसराइले रित्तिँदै गएको छिस्तिको फुर्केसल्ला गाउँमा आँगनभरि मौरीका घार, गोठभरि भैँसी र पाडापाडीपालन गरेर बस्नुभएको छ रघुनाथ पौडेलको परिवार ।

जैमिनी नगरपालिका–८ फुर्केसल्ला पुग्दा ६१ वर्षीय रघुनाथ पौडेल र उहाँका ३२ वर्षीय छोरा राजन गाईभैँसीको स्याहारसुसारमा व्यस्त हुनुहुन्थ्यो । बाउछोरा मिलेर उहाँहरुले चार वर्षयता दूध र मह उत्पादन गर्दै आउनुभएको छ । उहाँहरु गाउँकै उदाहरणीय परिवारका रुपमा चिनिनुभएको छ ।

गाउँमा बाँदर आतङ्क भएपछि अन्नबालीसमेत कम उत्पादन हुन थाल्यो । परम्परागत कृषि कर्म गर्दै आउनुभएका रघुनाथले छोराकै सहायतामा कृषि र पशुपालनलाई अहिले व्यावसायिक बनाउनुभएको छ ।

“चार वर्ष अगाडिसम्म छोरा चितवनमा माछापालन गरेर बस्थ्यो, घरमा दुई चार वटा मौरीका घार र एउटा लैनो भैँसी थियो । कोभिड–१९ पछि छोरा घर फर्कियो र व्यावसायिक पशुपालनमा लाग्यौँ”, रघुनाथले भन्नुभयो, “अहिले बाउछोरा मिलेर छ वटा मुर्रा क्रस जातका भैँसी र तीन वटा गाईपालन गरेका छौँ, २६ वटा मौरीका घार छन् । मौरीका घार वृद्धि गरेर ५० पु¥याउने तयारीमा छौँ ।” अन्न कुटानी पिसनीका लागि घरमै मिल राख्नुभएको छ ।

चितवनमा जग्गा भाडामा लिएर माछापालन गर्दै आउनुभएका राजनलाई गाउँका अन्य युवा झैँ विदेश जान मन लागेन । बुवाको परम्परागत कृषि र पशुपालनलाई व्यावसायिक बनाउने काममा लाग्नुभयो । अहिले उहाँहरुले दैनिक ४० लिटर दूध बागलुङ बजारमा पठाउनुहुन्छ । उहाँहरुले छिस्ती पाडापाडी तथा भैँसीपालन फार्म सञ्चालन गर्नुभएको छ । फार्ममा अहिले छ वटा पाडी, एक पाडो र दुई गाईका बाच्छा हुर्कंदै छन् ।

“कोरोना अगाडि म चितवनमै माछापालन गरेर बस्थेँ, अरुको जग्गा भाडामा लिएर काम गरेको थिएँ । कोभिडका बेला घाटा लाग्यो त्यसपछि घरमै आएर बुबाले गरिरहनुभएको कामलाई व्यावसायिकता दिएको हुँ”, छोरा राजनले भन्नुभयो । फार्ममा एउटा स्थानीय जातको भैँसीसमेत छ । सुक्खा मौसममा ४० लिटर दूध घाँस प्रशस्त भएका बेला ५० लिटरभन्दा बढी दूध बजार लैजाने गरेको उहाँले बताउनुभयो ।

बागलुङ बजारको भैरव डेरीले प्रतिलिटर रु ९५ मा दूध लिने गरेको पौडेल बताउनुहुन्छ । अहिले हुर्कंदै गरेको पाडापाडी बढेपछि दूध उत्पादन एक सय लिटर पुग्ने उहाँले बताउनुभयो । उहाँले उन्नत जातको भैँसी र गाईबाट जन्मेका पाडापाडी संरक्षण गर्नसके महँगो मूल्य हालेर भैँसी र गाई खरिद गर्न नपर्ने बताउनुभयो ।

बाँदरको आतङ्क बढेपछि उहाँहरुले गाउँको १० रोपनी जग्गामा व्यावसायिक बहुवर्षे घाँसखेती गर्नुभएको छ । घाँसमा आधारित पशुपालन भएकाले मुनाफा बढी हुने बताउँदै मासिक रु एक लाख देखि एक लाख ५० हजारसम्म आम्दानी दूध बिक्रीबाटै हुने उहाँहरुको भनाइ छ । पौडेलको घरमा २६ घार मौरीले व्यावसायिक उत्पादन दिइरहेको छ । वर्षमा एकदेखि डेढ क्विन्टल मह उत्पादन गरी बिक्री गर्दा वार्षिक दुई लाखभन्दा बढी आम्दानी महबाटै हुने गरेको छ । अर्गानिक मह भएका कारण घरैबाट एक हजार पाँच सय प्रतिकिलो बिक्री हुने गरेको रघुनाथ पौडेलले बताउनुभयो ।

“विदेश गए पनि दुखै हो, बाँझो जग्गामा घाँसखेती गरेका छौँ, त्यही घाँसले गाईभैँसीपालन हुन्छ । मौरीलाई हेरचाह मात्रै गरे पुग्यो”, उहाँले भन्नुभयो । कृषि ज्ञानकेन्द्र बागलुङले मौरीका घार थप्न रु ५० हजार अनुदान दिएको छ ।

उहाँहरुले दुई वटा प्लाष्टिक टनेलमा टमाटर र काउलीखेती गर्नुभएको छ । बाउछोराको काममा सिङ्गो परिवारका सदस्यले दिएको छ । कक्षा १२ सम्म अध्ययन गरेका राजन पौडेल सकेसम्म विदेश नजाने र यही कृषि कर्मलाई वृद्धि गर्दै जाने बताउनुहुन्छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले गोठ सुधारका लागि एक लाख २० हजार र पाडापाडी संरक्षण गर्न रु ४० हजार प्रदान गरेको भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङका प्रमुख डा ऋषिराम सापकोटाले बताउनुभयो । १० रोपनी घाँसखेतीका लागि प्रतिरोपनी तीन हजारका दरले ३० हजार अनुदान दिइएको सापकोटाले जानकारी दिनुभयो ।

“पशु विज्ञ केन्द्रले चालु आर्थिक वर्षमा उत्पादनका आधारमा मासु, दूधदेखि घाँससम्ममा अनुदान दिएको छ, व्यावसायिक रुपमा पशुपालनमा लागेको किसानलाई घाँस उत्पादन, पाडापाडी संरक्षण गर्न सहयोग गरेका छौँ”, डा सापकोटाले भन्नुभयो, “अनुदानले पूर्वाधार मात्रै बनाउँदा परिणाम देखिएन, अहिले उत्पादनका आधारमा अनुदान दिँदा असली किसान उत्साहित भएका छन् ।”

जैमिनी नगरपालिकाले गाईभैँसीको पिसाव सङ्कलन गर्न रु २५ हजार सहयोग गरेको छ । दुई वटा प्लाष्टिक टनेल बनाउन रु ५० हजार नगरपालिकाले दिएको रघुनाथ पौडेलले बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?