काँकडभिट्टाबाटै १० महिनामा साढे चार करोडको खरबुजा आयात, स्वदेशी उत्पादन ओझेलमा

काँकडभिट्टा-पूर्वी नेपालको प्रमुख व्यापारिक नाका काँकडभिट्टा हुँदै चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा भारतबाट चार करोड ६१ लाख ३४ हजार रुपैयाँ मूल्य बराबरको खरबुजा आयात भएको छ। मेची भन्सार कार्यालयको तथ्याङ्क अनुसार, यस अवधिमा कुल १७ लाख ६५ हजार ९० किलोग्राम खरबुजा नेपाली बजारमा भित्रिएको हो।

गर्मी मौसममा शीतल तथा स्वादिष्ट फलका रूपमा खरबुजाको माग उच्च हुने गर्दछ। यद्यपि, स्थानीय स्तरमा व्यावसायिक खरबुजा खेती हुँदै आए पनि भारतीय खरबुजाको व्यापक आयातले स्वदेशी उत्पादनलाई प्रत्यक्ष मार पारेको छ। नेपालकै माटोमा पर्याप्त उत्पादन गर्न सकिने खरबुजाका लागि समेत विदेशी बजारमा निर्भर रहनुपर्ने अवस्थाले कृषि क्षेत्रको परनिर्भरतालाई थप उजागर गरेको छ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार, विगत १० महिनाको तथ्याङ्क हेर्दा, सबैभन्दा बढी खरबुजा चैत महिनामा आयात भएको देखिन्छ। चैतमा मात्रै एक करोड ३३ लाख सात हजार रुपैयाँ मूल्य बराबरको पाँच लाख १० हजार २३० केजी खरबुजा भारतबाट भित्रिएको छ।

भन्सार कार्यालयले उपलब्ध गराएको १० महिनाको मासिक आयात विवरण यस प्रकार छ:

साउन: ६० लाख ५० हजार रुपैयाँ (दुई लाख ३० हजार ८५० केजी)

भदौ: ४८ लाख ९८ हजार रुपैयाँ (एक लाख ८६ हजार १४० केजी)

असोज: ३७ लाख २९ हजार रुपैयाँ (एक लाख ४१ हजार ४५० केजी)

कात्तिक: २१ लाख ३७ हजार रुपैयाँ (८१ हजार २४० केजी)

मङ्सिर: १४ लाख ६६ हजार रुपैयाँ (५५ हजार ७८० केजी)

पुस: १२ लाख ४२ हजार रुपैयाँ (४७ हजार २६० केजी)

माघ: २२ लाख ३२ हजार रुपैयाँ (८५ हजार ७१० केजी)

फागुन: ४४ लाख ८८ हजार रुपैयाँ (एक लाख ७३ हजार ७८९ केजी)

चैत: एक करोड ३३ लाख सात हजार रुपैयाँ (पाँच लाख १० हजार २३० केजी)

वैशाख: ६५ लाख ८६ हजार रुपैयाँ (दुई लाख ५२ हजार ६५० केजी)

एउटै नाकाबाट यति ठूलो परिमाणमा खरबुजा आयात हुनुले स्वदेशी उत्पादन प्रवर्द्धन, किसानलाई प्रोत्साहन, र कृषिमा आत्मनिर्भर बन्ने राष्ट्रिय लक्ष्यमाथि नै प्रश्न खडा गरेको छ। स्थानीय किसानहरूले उत्पादन गरेको खरबुजाले उचित बजार नपाउने तर आयातित खरबुजाले सहजै बजार कब्जा गर्ने अवस्थाको अन्त्य गर्न सम्बन्धित निकायले ठोस नीतिगत कदम चाल्न जरुरी देखिन्छ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?