लोप हुँदै मुस्ताङको रैथाने बाली ‘उवा’

मुस्ताङ – हिमालपारिको जिल्ला मुस्ताङको पहिचानसँग जोडिएको परम्परागत रैथाने अन्नबाली ‘उवा’ लोपोन्मुख अवस्थामा पुगेको छ। शितोष्ण हावापानीमा फस्टाउने, स्थानीय भाषामा ‘करुने’ भनिने यो गहुँ प्रजातिको बाली यहाँको धार्मिक, सांस्कृतिक र खाद्य सुरक्षाका लागि महत्वपूर्ण मानिन्छ।
समुद्री सतहबाट करिब १९८४ देखि ३९०० मिटरसम्मको उचाइमा उत्पादन हुने उवा खेती सदियौंदेखि मुस्ताङी जीवनशैलीको अभिन्न अंग रहँदै आएको छ। विशेषगरी बौद्ध धर्मावलम्बीको बाहुल्यता रहेको यस क्षेत्रमा धार्मिक अनुष्ठान, काजक्रिया र चाडपर्वमा उवा र जौको प्रयोग अनिवार्य जस्तै हुन्छ। यसबाट बन्ने सातु, छ्याङ र रक्सी स्वास्थ्यवद्र्धक र पोषिलो मानिन्छ।
तर, पछिल्लो समय मौसम परिवर्तनसँगै बढेको वर्षा र फौजी किराको प्रकोपले उवा खेती संकटमा परेको किसानहरूको गुनासो छ। व्यावसायिक उत्पादन घट्दै गए पनि केही किसानले घरायसी प्रयोजन र परम्परा धान्नका लागि मात्र यसको खेतीलाई निरन्तरता दिइरहेका छन्। रैथाने ज्ञान र स्वाद बोकेको यो महत्वपूर्ण बालीको संरक्षण अहिलेको प्रमुख चुनौती बनेको छ।