पहिलो पटक सहकारीमा दूध लिएर पुग्दा देवकीको अनुहारमा छायो खुसी, मनमा आम्दानीको सपना

रसुवा – रसुवाको उत्तरगया गाउँपालिका–५ की मेहनती महिला कृषक देवकी भट्टले आज बिहान सबेरै पहिलो पटक श्री कालिका बहुउद्देश्यीय सहकारी संस्थामा दूध बिक्रीका लागि ल्याउनुभएको छ। यसअघि कहिल्यै व्यावसायिक रूपमा दूध नबेच्नुभएकी भट्टलाई गाउँपालिकाले प्रदान गर्ने प्रतिलिटर ५ रुपैयाँ अनुदानले दूध बिक्री गर्न हौसला मिलेको हो।
“योभन्दा पहिले दूध बेचेकी थिइनँ,” उत्साहित हुँदै देवकी भट्टले भन्नुभयो, “सबैले बेचेका छन्, घरमा खाएर पनि सकिन्न, केही आम्दानी पनि हुन्छ भनेर बेच्न ल्याएकी हुँ।” उहाँले थप्नुभयो, “एक लिटरमा ५ रुपैयाँ अनुदान पनि दिने रे भन्ने सुनेकी छु। यसले भैंसीलाई दानापानी किन्न पनि सहयोग पुग्छ कि भन्ने आशा छ।”
उत्तरगया गाउँपालिका वडा नं. ५ ले कृषकहरूलाई पशुपालनमा प्रोत्साहन गर्न र दूध उत्पादन बढाउन प्रतिलिटर दूधमा ५ रुपैयाँ अनुदान दिने कार्यक्रम सुरु गरेको छ। यस कार्यक्रमले देवकी भट्टजस्ता धेरै स्थानीय कृषकलाई व्यावसायिक दूध उत्पादनतर्फ आकर्षित गरेको छ। गाउँपालिकाको यो कदमले कृषकहरूको आयआर्जनमा टेवा पुग्ने र पशुपालन व्यवसाय थप व्यवस्थित हुने अपेक्षा गरिएको छ।
श्री कालिका बहुउद्देश्यीय सहकारी संस्थाले किसानहरूबाट दूध संकलन गरी बजारीकरणमा सहयोग गर्दै आएको छ। देवकी भट्टको यो सुरुवातले गाउँका अन्य दूध उत्पादक कृषकहरूलाई पनि सहकारीमार्फत दूध बिक्री गरी नियमित आम्दानी गर्न प्रेरणा मिल्ने देखिन्छ। अनुदान कार्यक्रमले गर्दा किसानहरू भैंसीपालन र दूध उत्पादनमा थप लगानी गर्न उत्साहित भएका छन्, जसले गर्दा स्थानीय स्तरमा दूधको उत्पादन बढ्ने र किसानको आर्थिक अवस्थामा सुधार आउने विश्वास लिइएको छ।