” एक मुरी अन्नबाट ५० हजारको छलाङ ,लालमायाको बारीमा फल्दैछ सुन !”

“किसानलाई चाहिने पैसा हो, यसरी कमाउन सकियो भने त भैहाल्यो नि!”
उत्तरगया (रसुवा) : रसुवा जिल्लाको उत्तरगया गाउँपालिका–१ र २ का डाँडाहरू यतिबेला पिरो अकबरे खुर्सानीले हरियाली बनेका छन्। परम्परागत कोदो र मकै खेतीबाट गुजारा चलाउँदै आएकी स्थानीय मेहनती महिला कृषक, लालमाया तामाङ, अहिले यिनै अकबरे खुर्सानीको व्यावसायिक खेतीबाट आफ्नो जीवनस्तर उकास्न सफल भएकी छिन्।
विगतमा एक मुरी कोदो र मकै मुस्किलले फल्ने बारीमा अहिले अकबरे खुर्सानी लगाएर उनले वार्षिक ५० हजार रुपैयाँसम्म आम्दानी गर्न सफल भएकी छिन्। “पोहोर वर्षामा लगाएको खुर्सानीले अहिले पनि राम्रो आम्दानी दिइरहेको छ,” लालमायाले खुशी हुँदै भनिन्, “हरेक दिन ७-८ किलो खुर्सानी बेचिरहेको छु। बारीमै पाकेको खुर्सानी प्रतिकिलो ३०० रुपैयाँमा बिक्री हुन्छ।”
यो सफलताको पछाडि लालमायाको अथक मेहनतका साथै उत्तरगया गाउँपालिकाको महत्वपूर्ण सहयोग रहेको छ। गाउँपालिकाले सिँचाइका लागि पानी हाल्ने भाँडा, मल्चिङ प्लास्टिक, ड्रम तथा खुर्सानीको बिरुवामा अनुदान उपलब्ध गराएको हो। “पहिले यही पाटोमा मकै, कोदो लगाउँदा खासै आम्दानी हुँदैनथ्यो,” लालमाया विगत सम्झन्छिन्, “गाउँपालिकाका सरहरूले खुर्सानी लगाउनुस् भनेर अनुदान पनि दिनुभयो, अहिले आम्दानी देखेर मख्ख छु।”
अकबरे खुर्सानीबाट प्राप्त भइरहेको राम्रो आम्दानीले उत्साहित लालमाया अब आफ्नो सबै बारीमा यही खेती विस्तार गर्ने योजनामा छिन्। “बिक्री राम्रो भयो र बजार पाइयो भने अब सबै बारीमा अकबरे नै लगाउने हो,” उनले दृढता व्यक्त गरिन्, “किसानलाई चाहिने पैसा हो, यसरी कमाउन सकियो भने त भैहाल्यो नि!”
गाउँमा युवाहरूको संख्या कम हुँदै गएकाले अर्मपर्म गर्ने चलन पनि पातलिएको उनी बताउँछिन्। तर, खेतबारीमा कुटोकोदालो गर्ने बानी परेकी लालमायालाई खेतबारी नडुली निन्द्रै लाग्दैन। “हाम्रो त बानी भइसक्यो, खेतबारीमै रमाउने हो,” उनी भन्छिन्।
लामाया तामाङको यो सफलताले उत्तरगया क्षेत्रका अन्य किसानहरूलाई पनि व्यावसायिक तथा नगदे बालीतर्फ आकर्षित गरेको छ। परम्परागत खेती प्रणालीबाट गुजारा चलाउन धौधौ परिरहेको अवस्थामा अकबरे खुर्सानी जस्ता नगदे बालीले किसानको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्ने उदाहरण लालमायाले प्रस्तुत गरेकी छिन्।
#krishisuchana #krishinews