विकासको सिताके च्याउ यात्रा: कटुसको मुडामा फल्ने सुन, धैर्य र मिहिनेतको सफलता

“धेरै मानिस युट्युबमा देखेर सजिलै कमाइन्छ भनी आकर्षित हुन्छन् तर निरन्तर मिहिनेत र धैर्यता नहुँदा सफल हुँदैनन्,”
चापागाउँ, ललितपुर: ललितपुरको गोदावरी नगरपालिका, चापागाउँका लगनशील युवा कृषक विकास देशारले परम्परागत तरिकाले काठको मुडामा सिताके च्याउ खेती गरेर नमुना प्रस्तुत गरेका छन्। विदेश पलायनको विकल्प खोजिरहेका युवाहरूका लागि प्रेरणा बनेका देशारको १५ वर्षे कृषि यात्रा धैर्य, मिहिनेत र निरन्तर सिकाईको उदाहरण हो।
कटुसको मुडामा सिताकेको जादू
देशारका अनुसार, सिताके च्याउ विशेषगरी कटुसको मुडामा राम्रो फल्छ, जसले च्याउमा औषधीय गुण पनि बढाउँछ। यसबाहेक उत्तिस, सौर, खस्रो, लाकुरी र रुद्राक्ष जस्ता नरम काठ पनि प्रयोग गर्न सकिने उनको अनुभव छ। “एउटा मुडा करिब ४ वर्ष पुरानो भएपछि उत्पादन दिन थाल्छ र बोक्रा नकुहिँदासम्म, करिब ५-६ वर्षसम्म लगातार च्याउ टिप्न सकिन्छ,” देशारले भने। च्याउ रोप्नका लागि मुडामा प्वाल पारेर बीउ (ढुसी) हालिन्छ र मैनले टालिन्छ। ढुसी फैलिएपछि मुडाको कमजोर भागबाट च्याउ निस्कन्छ, जसका लागि एउटा मुडामा १०० देखि १५० वटासम्म प्वाल पारिने उनले जानकारी दिए।
धैर्यता, लगानी र प्रतिफल
यो खेतीमा धैर्यताको ठूलो भूमिका हुन्छ। बीउ रोपेको ९ महिनादेखि १ वर्षमा पहिलो उत्पादन आउने र राम्रो हेरचाह गरे ७ महिनामै पनि फल्न सक्ने देशार बताउँछन्। प्रति मुडा काठ, बीउ र ज्याला समेत करिब ५०० देखि ६०० रुपैयाँ लगानी लाग्ने र राम्रो स्याहार गर्न सके एउटै मुडाबाट ३ देखि ५ किलोसम्म च्याउ उत्पादन हुने उनको भनाइ छ।
बजारको कुरा गर्दा, ताजा सिताके च्याउ प्रतिकिलो ५०० देखि १५०० रुपैयाँसम्म बिक्री हुने गरेको छ। “अफसिजनमा त मैले १२५० रुपैयाँ प्रतिकिलोसम्म पनि बेचेको छु,” उनले उत्साहित हुँदै भने। उत्पादन धेरै हुँदा सुकाएर राख्ने र सुकेको च्याउ प्रतिकिलो ८,००० देखि १०,००० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ। “सुकेको च्याउमा भिटामिन डी हजार गुणा बढी हुने अनुसन्धानले देखाएको छ र यसलाई डेढ-दुई वर्षसम्म राख्न सकिन्छ,” देशारले थपे। यो व्यवसायबाट उनी सन्तुष्ट छन्। वार्षिक ४-५ लाख रुपैयाँ ऋणको किस्ता तिरेर, परिवार र छोराछोरीको खर्च चलाउन पुगेको उनी बताउँछन्।
चुनौतीबीचको निरन्तरता
तर, यो खेती सोचेजस्तो सजिलो भने छैन। “धेरै मानिस युट्युबमा देखेर सजिलै कमाइन्छ भनी आकर्षित हुन्छन् तर निरन्तर मिहिनेत र धैर्यता नहुँदा सफल हुँदैनन्,” देशारले आफ्नो अनुभव सुनाए। उनले सुरुमा डा. केशरी लक्ष्मीबाट तालिम र बीउ लिएको र अहिले आफैँ बीउ उत्पादन गरेर अरुलाई तालिमसमेत दिने गरेको बताए। सरकारबाट खासै आर्थिक अनुदान नपाए पनि गत वर्ष नगरपालिकाले १०० किलो च्याउ बिक्रीमा सहयोग गरेको उनले स्मरण गरे। गत वर्षको बाढीले उनको अर्को फार्मका करिब १००० मुडा बगाउँदा ठूलो क्षति बेहोर्नुपरेको दुःखद् अनुभव पनि उनीसँग छ। पानीको उचित व्यवस्थापन यो खेतीको अर्को महत्त्वपूर्ण पक्ष हो, जसका लागि दैनिक करिब एक घण्टा समय छुट्याउनुपर्छ।
अन्त्यमा, देशार युवा तथा अन्य किसानलाई आफ्नै माटोमा केही गर्न उत्प्रेरित गर्छन्। “आफ्नो उत्पादन बेच्न लाज मान्नु हुँदैन। यही व्यवसायले मलाई विदेश जानबाट रोकेको छ,” उनले भने। च्याउको अफसिजनमा उनी तरकारी खेती पनि गर्छन्, जसले उनको निरन्तर आम्दानीको स्रोत सुनिश्चित गरेको छ। विकास देशारको यो सफलताको कथाले कृषिमा धैर्य, मिहिनेत र सही ज्ञान भएमा स्वदेशमै राम्रो भविष्य बनाउन सकिन्छ भन्ने बलियो सन्देश दिएको छ।
#krishisuchana #krishinews