अकबरे खुर्सानी प्रतिकिलो रु. एक हजार , किसानको हातमा नै ७००

खोटाङ: पिरो र स्वादिलो अकबरे खुर्सानीको मूल्यले यहाँ नयाँ उचाइ छोएको छ। सदरमुकाम दिक्तेल बजारमा अहिले अकबरे खुर्सानी प्रतिकिलो रु. एक हजारमा बिक्री भइरहेको छ, जुन हालसम्मकै उच्च हो।
स्थानीय व्यापारीहरूले गाउँका किसानबाट प्रतिकिलो रु. ७०० देखि ८०० सम्ममा खरिद गरी उपभोक्तालाई बिक्री गर्दै आएका छन्। मूल्य बढे पनि अकबरेको खास स्वाद र औषधीय गुणका कारण उपभोक्ताहरू यसलाई किन्न हिच्किचाएका छैनन्।
दिक्तेल बजारमा खाल्ले, बुइपा, बाम्राङ, लफ्याङ, सोल्मा, नेर्पा र दोर्पा जस्ता गाउँका किसानले उत्पादन गरेको अकबरे खुर्सानी तथा अन्य तरकारीहरू खपत हुने गर्दछ। अकबरेको यो बढ्दो माग र मूल्यले व्यावसायिक खेती गर्ने किसानहरूलाई भने राम्रो आम्दानीको अवसर प्रदान गरेको छ।