देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं – देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहँदा आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले देशका अधिकांश भू-भागमा बदली र वर्षाको पूर्वानुमान गरिएको हो।

विभागले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो र राति देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। सबै प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी तराईका भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

मौसमविद्हरूले आज दिउँसो कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएका छन्। त्यस्तै, आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।

यसैगरी, देशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरूमा पहिरो तथा गेग्रान बहावको जोखिम बढ्न सक्ने, साथै नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले सबैलाई आग्रह गरेको छ। वर्षाका कारण दैनिक जनजीवन र यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने हुँदा सतर्क रहन अनुरोध गरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?