देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं, आषाढ ३० :
विभागले जारी गरेको पूर्वानुमान अनुसार आज दिउँसो देशभर मौसम सामान्यतया बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका साथै देशका अन्य पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। विशेषगरी, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ। देशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा भने हल्कादेखि मध्यम वर्षा वा हिमपात हुन सक्नेछ।
त्यसैगरी, आज राति पनि देशभरको मौसममा सामान्यतया बदली रहनेछ। रातिको समयमा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। राति कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ।
विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरूमा बाढी, पहिरो तथा भू-क्षयको जोखिम बढ्न सक्ने भन्दै सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ। नदी नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने र यातायात क्षेत्रमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।
