आज देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, श्रावण ०५ :आज सोमबार देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ, जसका कारण अधिकांश स्थानमा बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा आफ्नो सामान्य स्थानभन्दा थोरै उत्तरतर्फ सरेकाले देशका विभिन्न भागमा हल्कादेखि मध्यम तथा केही स्थानमा भारी वर्षाको समेत पूर्वानुमान गरिएको छ।

महाशाखाका अनुसार, आज दिउँसो देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बाँकी भू-भागका थोरै स्थानमा पनि यस्तै किसिमको वर्षा हुनेछ।

विशेषगरी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले चेतावनी दिएको छ। देशका उच्च-पहाडी तथा हिमाली भू-भागमा भने हल्कादेखि मध्यम वर्षा वा हिमपात हुन सक्नेछ।

आज राती पनि देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ। रातिको समयमा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै देशका अन्य पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।

महाशाखाले भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जनाएको छ। साथै, नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र त्यसले दैनिक जनजीवन तथा यातायात क्षेत्रमा समेत असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?