खेर जाने नासपातीबाटै आम्दानी: तनहुँकी दुर्गाको जुक्तिले देखायो किसानलाई नयाँ बाटो
दमौली, तनहुँ :
“बारीमा लटरम्म फलेका नासपाती त्यसै कुहिएर जाँदा साह्रै दुःख लाग्थ्यो,” दुर्गा आचार्य भन्नुहुन्छ, “त्यसैले यसलाई केही नबिग्रने गरी राख्ने उपाय सोच्दा जाम बनाउने जुक्ति आयो। बजारको जाममा के-के मिसाएको हुन्छ थाहा हुन्न, तर घरमै बनाउँदा ढुक्कसँग खान पाइन्छ।”
उहाँको जाम बनाउने तरिका अत्यन्तै सरल छ। राम्ररी पाकेका नासपाती टिपेर, सफासँग पखाल्ने र स-साना चाना काट्ने। त्यसपछि भाँडामा थोरै तेल राखेर नासपातीलाई राम्ररी पकाउने। अरु केही रसायन नहाली बनाइने हुँदा यो स्वास्थ्यका लागि पनि ढुक्क हुन्छ र वर्षौंसम्म राख्न सकिन्छ। पकाइसकेपछि हावा नछिर्ने सिसी वा बट्टामा राख्दा यो लामो समयसम्म खान योग्य हुन्छ।
हजारौं किसानको साझा समस्या
अहिले नेपालका पहाडी भेगमा नासपातीको मुख्य मौसम हो। शहर बजार नजिकका किसानले केही मात्रामा बजार पाए पनि सडक पहुँच नभएका दुर्गम गाउँका किसानका लागि भने यो फल आम्दानीको स्रोत बन्न सकेको छैन। यातायातको अभावमा बजारसम्म पुर्याउन नसक्दा हजारौं टन नासपाती बोटमै र भुइँमा त्यसै कुहिएर खेर गइरहेको छ।
स्थानीय सरकारको भूमिका
दुर्गा आचार्यको यो घरेलु प्रयास एक उदाहरण मात्र हो। यस्तो समस्याको समाधानका लागि स्थानीय तहले विशेष भूमिका खेल्न सक्छन्। किसानहरूलाई समूहमा संगठित गरी नासपातीबाट जाम, जुस, वाइन वा अन्य परिकार बनाउने तालिम दिने र त्यसका लागि आवश्यक प्रशोधन केन्द्र स्थापनामा सहयोग गर्न सके यसले व्यावसायिक रूप लिन सक्छ।
स्थानीय सरकारले उत्पादनलाई बजारीकरणमा सहजीकरण गरिदिने हो भने खेर गइरहेको नासपाती हजारौं किसानका लागि आम्दानीको बलियो स्रोत बन्न सक्छ। यसबाट एकातिर किसानको आर्थिक अवस्था सुध्रिन्छ भने अर्कोतिर स्थानीय उत्पादनले बजार पाउँदा देशको अर्थतन्त्रलाई समेत फाइदा पुग्नेछ।
