आज तीन प्रदेशका पहाडी भू-भागमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौं, श्रावण १३ :जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज मंगलबार देशका अधिकांश स्थानमा वर्षा हुने जनाएको छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेकाले वर्षाको सम्भावना बढेको हो।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। तराईका केही स्थानमा पनि मध्यम वर्षा हुनेछ। यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भने भारी वर्षाको पूर्वानुमान गरिएको छ।
आज राती लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा सामान्यतया बदली रही बाँकी तराईमा आंशिक बदली रहनेछ। रातीको समयमा लुम्बिनी र पहाडी भू-भागका थोरै स्थानमा तथा तराईका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।
भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम बढ्न सक्ने, नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र यातायात क्षेत्रमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको छ।
