घर-घरमा भोटे ताल्चा, मन-मनमा गहिरो चोट र सुनसान भविष्य – रित्तो आँगन, खोक्रो देश

सल्लेरी गाउँको डिलमा बसेर हरिकृष्ण बा हरेक साँझ पर क्षितिजमा डुब्दै गरेको घाम हेर्थे। घाम डुब्थ्यो, तर उनको मनमा भने यादहरूको घाम कहिल्यै अस्ताउँदैनथ्यो। ८० वर्षको उमेरमा पनि उनको शरीरमा फुर्ती थियो, तर आँखामा गहिरो उदासी र अनगिन्ती प्रश्नहरू थिए।

त्यही आँगन थियो, जहाँ केही वर्ष अघिसम्म उनका दुई छोरा, बुहारी, र चार नातिनातिनाको हाँसो गुन्जिन्थ्यो। हरिकृष्ण बा उनीहरूलाई सधैँ भन्थे, “बाबु हो, सुख भनेको पैसाको थुप्रोमा होइन, मनको सन्तोषमा हुन्छ। हेर त, हाम्रो बारीको सिस्नो, ढिँडो, कोदोको रोटी; यसमा जस्तो स्वाद तारे होटलको खानामा कहाँ छ ? सँगै बसेर खाएको नुन-भातमा जस्तो मीठास कहाँ छ ?”

उनका कुरा सुनेर सबैजना हाँस्थे। साँच्चै, त्यो परिवार खुशी थियो। दुःख-सुख जे भए पनि एक-अर्काको साथ थियो। मेलापात, अर्मपर्मले गाउँ जीवन्त थियो।

तर समय बदलियो। छोराहरूले देखे – गाउँमा बसेर भविष्य छैन। जेठो छोरो कतार उड्यो। कान्छो मलेसिया। “दुई-चार वर्ष दुःख गर्छौँ बा, अनि पैसा कमाएर गाउँमै केही गरौँला,” उनीहरूले भनेका थिए। हरिकृष्ण बाले रोक्न सकेनन्। छोराहरू गएपछि बुहारीहरू पनि नातिनातिनाको ‘राम्रो शिक्षा’ का लागि भन्दै शहर पसे।

अहिले हरिकृष्ण बा र उनकी श्रीमती हरिकुमारी मात्र त्यो ठूलो घरमा छन्। घर त उही हो, तर घरजस्तो लाग्दैन। छोराहरूले पैसा पठाउँछन्। जस्ताको छानो टल्केको छ, आँगनमा धारा छ, हातमा महँगो मोबाइल छ। तर, त्यो घरमा जीवन छैन।

एकदिन साँझ, हरिकृष्ण बा चौतारीमा एक्लै टोलाइरहेका थिए। छेउमा रहेको पुरानो रेडियोमा समाचार बज्दै थियो। समाचारको पहिलो अंशले उनको मन चसक्क बनायो: “कृषिप्रधान देश नेपालमा अर्बौंको खाद्यान्न आयात। कोदो, चामल, धान, गहुँ, मकै, फापरदेखि लसुनसम्म विदेशबाटै किन्नुपर्ने बाध्यता बढ्दो।”

हरिकृष्ण बाले एकपटक आफ्नो बाँझो बारीतिर हेरे। कुनै बेला यही बारीमा लहलह मकै र कोदो झुल्थ्यो।

रेडियोको अर्को समाचार सुरु भयो, “यसैबीच, विप्रेषण आप्रवाहले भने नयाँ कीर्तिमान कायम गरेको छ। देशमा भित्रिएको रेमिट्यान्सले अर्थतन्त्रलाई ठूलो टेवा पुगेको र राज्यको ढुकुटी भरिएकोमा सरकार र अर्थविद्हरूले खुसी व्यक्त गरेका छन्।”

यो सुनेर हरिकृष्ण बा नमीठोसँग हाँसे। कस्तो उल्टो जमाना ! आफ्नो बारी बाँझो राखेर अर्काको देशको अन्न किनेर खाने ! अनि त्यही अन्न किन्ने पैसा कमाउन आफ्नै छोराछोरीलाई र गत-पसिना बगाउन अर्काको देश पठाउने! यो कस्तो चक्र हो ? यो कस्तो विकास ?

त्यहीबेला उनको छेउबाट साइँला दाइ लुरुलुरु हिँड्दै थिए। उनको घरमा पनि भोटे ताल्चा झुन्डिएको वर्षौं भयो। “के सोच्दै हुनुहुन्छ बा ?” साइँला दाइले सोधे।

हरिकृष्ण बाले लामो सास फेर्दै भने, “के सोच्नु र साइँला ? रेडियो सुन्दैथिएँ। देशले अर्बौंको अन्न किन्छ रे, अनि हाम्रा छोराले पठाएको रेमिट्यान्समा सरकार मख्ख छ रे ! गत साल तिम्रो छोरोले बारीमा फलाएको काउलीले बजार नपाएर कुहिएर गयो। मेरो नातिले ‘यस्तो देशमा के गर्ने हजुरबा ?’ भन्दै आइएलटिएस पढ्न शहर पसेको छ। यहाँका युवाले फलाएको अन्न नबिकेपछि निराश भएर विदेश जानुको विकल्प के रह्यो र ?”

साइँला दाइले थपे, “हो त बा। अन्नको भण्डार मानिने तराईमा सिँचाइ छैन, किसानले आकासको पानी हेरेर बस्नुपर्छ। कतै रोपाइँ भएन भन्ने खबर आउँछ, कतै समयमा मल र बीउ नपाएर किसान रोएका छन्। खै बाबु, यो देशमा सरकार कहाँ छ ? के गर्दै छ ? विपद पर्दा ‘हामी छौँ’ भन्दैन, खाली आश्वासनको पोको मात्रै दिन्छ। अनि कसरी बस्छन् त यहाँ युवाहरू? कसरी टिकोस् किसानको मन ?”

उनीहरूको कुराकानीमा सिंगो देशको पीडा थियो। बारी बाँझो राखेर युवा निर्यात गर्ने, अनि त्यही युवाले पठाएको पैसाले विदेशबाट खाद्यान्न आयात गर्ने नीतिको पीडा।

त्यतिकैमा हरिकृष्ण बाको मोबाइलको घण्टी बज्यो। विदेशबाट जेठो छोराको भिडियो कल रहेछ। स्क्रिनमा छोराको थकित अनुहार देखियो।
“बा, सन्चै हुनुहुन्छ? यो महिना अलि बढी पैसा पठाइदिएको छु, केही किन्नुहोला।”

हरिकृष्ण बाले रसाएका आँखा लुकाउँदै भने, “हामीलाई केही किन्नु छैन बाबु। बरु तँ सन्चै बस्। तर एउटा कुरा सोधूँ ?”

“सोध्नुस् न बा।”

“तैँले पठाएको पैसाले चामल त किनौँला, तर के त्यो चामलमा हाम्रो कोदोको रोटीको जस्तो माया र स्वाद मिसिएको हुन्छ ? तैँले घर त बनाउलास्, तर त्यो घरमा परिवारको हाँसो कसले भर्छ ? सरकार रेमिट्यान्समा रमाएको छ, तर हाम्रो गाउँ रित्तिएको उसले देख्दैन। खै, कहिले फर्किन्छस् र यो बाँझो बारीलाई फेरि हरियो बनाउँछस् ?”

छोरो निरुत्तर भयो। उसको आँखामा पनि आँसु टिलपिलाएको थियो।

कल काटिएपछि हरिकृष्ण बाले फेरि डुब्दै गरेको घामलाई हेरे। उनलाई लाग्यो, यो घाम मात्र होइन, सिंगो देशको आशा र भविष्य नै हरेक दिन यसैगरी अस्ताइरहेको छ। पैसाले रित्तो घरको भित्ता त पोतिएला, तर रित्तिएको गाउँ, बाँझिएको खेत र खोक्रो हुँदै गएको देशको आत्मा कसरी भरिएला ? यो प्रश्नको उत्तर न सरकारसँग थियो, न त परदेशमा पसिना बेचिरहेका लाखौँ युवाहरूसँग ।

त्यही बेला कसैले उनको काँधमा हात राख्यो। पछाडि हेर्दा गाउँकै रमेश उभिएको थियो। रमेश ५ वर्ष जापान बसेर गत साल मात्रै फर्केको थियो।
“के भयो बा ? फेरि दाइलाई सम्झिनुभयो ?” रमेशले सोध्यो।

हरिकृष्ण बाले फिक्का हाँस्दै भने, “हो बाबु। यो रित्तो गाउँ, यो बाँझो बारी हेर्दा अब त आशा नै म रिसक्यो।”

रमेश मुस्कुरायो। “बा, आशा मरेको छैन, हामीले जगाउन नसकेको मात्र हो। घाम अस्ताएको हो, सधैँका लागि निभेको होइन। भोलि फेरि उदाउँछ।”

उसले अगाडि थप्यो, “हेर्नुस् बा, सरकारले हाम्रो खेतमा आएर हलो जोतिदिँदैन। हामीले विदेशमा बगाएको पसिना र त्यहाँ सिकेको सीप अब आफ्नै माटोमा लगाउने हो। म एक्लै थिइनँ, अहिले हामी जापान र कोरियाबाट फर्केका ८ जना युवा मिलेर सहकारी खोलेका छौँ। हामीले गाउँको सबै बाँझो जमिन भाडामा लिएर सामूहिक खेती सुरु गरेका छौँ। प्लास्टिक टनेलमा तरकारी लगाएका छौँ, ड्रागन फ्रुट र एभोकाडो जस्ता नयाँ फलफूलको परीक्षण गर्दैछौँ।”

रमेशले उत्साहित हुँदै भन्यो, “हाम्रो उत्पादन सोझै शहरको सुपरमार्केटमा पुग्छ, बिचौलियाको झन्झट छैन। हामीले सरकारलाई सिँचाइ र मलको लागि घचघच्यायौँ, नदिएपछि आफैँ मिलेर बोरिङ खन्यौँ। अब राज्य रेमिट्यान्समा होइन, हाम्रो उत्पादनमा गर्व गर्ने दिन आउँछ। विदेशबाट पैसा होइन, प्रविधि र सीप लिएर फर्कने हो। तपाईंहरूको अनुभव र हाम्रो जोस मिल्यो भने यो रित्तो आँगनमा फेरि जीवनको मुना पलाउन सक्छ बा।”
रमेशको आँखामा एउटा अनौठो चमक थियो – आत्मविश्वास र आशाको।

हरिकृष्ण बाले एकटकले रमेशलाई हेरे। उनको मनमा वर्षौंदेखि जमेको निराशाको बादलमाथि आशाको किरण देखा पर्‍यो। उनलाई लाग्यो – हो त, विकल्प विदेश पलायन होइन, स्वदेशमै पौरख हो। नीति बनाउनेहरूले नदेखे पनि, युवा आफैँ जागे भने परिवर्तन सम्भव छ। रेमिट्यान्सको खोक्रो जगमा होइन, आफ्नै माटोको उत्पादनको बलियो जगमा मात्र देश उँभो लाग्न सक्छ।

त्यो साँझ, अस्ताउँदो घामले हरिकृष्ण बाको मनमा अँध्यारो होइन, भोलि उदाउने नयाँ बिहानीको सुनौलो सपना छरेर गयो। नातिनातिनासंग मज्जाले अगेनामा बसेर हास्दै खेल्दै कोदोको रोटि बनाएर खाइरहेको

कृषि सूचनाद्वारा प्रस्तुत गरिएको यो कथा तपाईंलाई कस्तो लाग्यो ?

कृपया आफ्नो प्रतिक्रिया दिन नभुल्नुहोला।

तस्बिर : नारायण उपाध्याय

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments