रौतहटमा ९० लाख बढीको अवैध फर्सीको बिउ बरामद, झडपमा ६ जना घाइते

रौतहट, २८ जेठ ।

रौतहटको बौधीमाई नगरपालिकामा प्रहरीले करिब ९० लाख रुपैयाँ बराबरको अवैध फर्सीको बिउ बरामद गरेको छ। नेपालबाट भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा प्रहरीले ठुलो परिमाणमा उक्त बिउ नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार, जेठ २७ गते बेलुका करिब ७:३० बजे बौधीमाई नगरपालिका वडा नं. ७, बाडा बंकुल टोलस्थित नेपाल-भारत सीमा नजिकै अवैध रूपमा बिउ लुकाएर राखिएको भन्ने गोप्य सूचना प्राप्त भएको थियो। सोही सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र मातहतका युनिटबाट खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खानतलासी गर्दा त्रिपालले छोपेर राखिएको ३२२ बोरा फर्सीको बिउ फेला पारेको हो।

बरामद गरिएको बिउको तौल जम्मा १२,८८० किलोग्राम रहेको र यसको बजार मूल्य ९० लाख १६ हजार रुपैयाँ बराबर कायम गरिएको प्रहरीले जनाएको छ।

बिउ नियन्त्रणमा लिने क्रममा स्थानीय बासिन्दाले अवरोध पुर्‍याउँदै प्रहरीमाथि ढुङ्गामुडा गरेपछि स्थिति तनावपूर्ण बनेको थियो। भिडलाई नियन्त्रणमा लिन र स्थिति सामान्य बनाउन प्रहरीले ६ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो। सो क्रममा भएको झडपमा ३ जना स्थानीय व्यक्ति र ३ जना प्रहरी कर्मचारी गरी जम्मा ६ जना सामान्य घाइते भएका छन्।

बरामद गरिएको बिउलाई थप कानुनी कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) बसन्त गौतमले जानकारी दिनुभयो। प्रहरीले तस्करीमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?