रिता राईको प्रयास: सहरको भान्सामा सोलुखुम्बुको स्वाद, दुधे मार्सीदेखि चौरीको नौनीसम्म अर्गानिक कोसेली

काठमाडौं– काठमाडौंको व्यस्त बजारको एक कुनामा उद्यमी रिता राईले हिमालको शुद्धता र पहाडको पौष्टिकताले भरिएका कृषि उपजहरू मार्फत उपभोक्ताको ध्यान खिचिरहेकी छिन्। ‘स्योरिलन अर्गानिक कृषि फार्म’ को ब्यानरमुनि उनले सोलुखुम्बुको काखमा फलेका रैथाने परिकारहरू सहरियाको भान्सासम्म पुर्‍याउने अभियान चलाएकी छिन्।

उनको स्टलमा कुनै रासायनिक मल वा विषादीको गन्ध छैन, बरु त्यहाँ हिमाली माटोको सुगन्ध छ। स्टलको मुख्य आकर्षण हो, दुधे मार्सी चामल। जुम्लाको रातो मार्सीबारे परिचित सहरियाहरूका लागि सोलुखुम्बुमा उत्पादन हुने यो सेतो र बाक्लो माड आउने मार्सी एक नौलो र स्वस्थ विकल्प बनेको छ। “यो हाम्रो नेचा सल्यान गाउँपालिकामा फलेको मौलिक चामल हो,” रिता गर्वका साथ भन्छिन्, “यसमा कुनै युरिया मल परेको छैन, केवल गाई-भैंसीको मल हालेर फलाइएको हो।”

चामल मात्र होइन, उनको स्टलमा हिमाली मकै, कोदो र फापरको पिठो पनि छ, जसको मूल्य प्रति केजी रु. १५० देखि रु. २५० सम्म पर्छ। सबैभन्दा विशेष र महँगो उत्पादनमध्ये एक हो, चौरीको नौनी। प्रति केजी रु. १७०० सम्म पर्ने यो नौनी सोलुखुम्बुको गोठबाट सिधै ल्याइएको राईले बताइन्। “यो शुद्ध चौरीको हो, हामी गोठसँग सिधा सम्पर्कमा छौँ,” उनले भनिन्।

यसका साथै, ग्यास्ट्रिक र उच्च रक्तचापका लागि फाइदाजनक मानिने हिमाली टिम्बुर र ओमेगा-३ युक्त लोपोन्मुख फिलिंगी जस्ता रैथाने उपजहरूले पनि उपभोक्तालाई आकर्षित गरिरहेका छन्।

यी उत्पादनहरू काठमाडौंसम्म ल्याउनु आफैँमा चुनौतीपूर्ण छ। “सोलुखुम्बुबाट सिधा गाडी आउँछ। धेरै सामान हुँदा हामी गाउँपालिकाको कृषि एम्बुलेन्सलाई प्रति किलो १० रुपैयाँ भाडा तिरेर ल्याउँछौँ,” रिता आफ्नो यात्राको कथा सुनाउँछिन्। यसले उनको व्यवसाय केवल नाफाका लागि नभई, गाउँको उत्पादनलाई बजार दिने एक सार्थक प्रयास पनि हो भन्ने देखाउँछ।

सोलुखुम्बुका उत्पादनबाहेक राईले काठमाडौंको गोदावरीस्थित आफ्नै फार्ममा उत्पादन गरेको डल्ले खुर्सानी, कुरिलो, लोकल कुखुरा र बट्टाईको अण्डा पनि बिक्रीमा राखेकी छिन्।

यो बजारमा एक दिन मात्र नभई, फोन सम्पर्कको आधारमा काठमाडौं उपत्यकाभित्र होम डेलिभरीको सुविधा पनि रहेको उनले जानकारी दिइन्। रिता राईको यो प्रयासले सहरमा स्वस्थ र अर्गानिक खानाको खोजीमा रहेका उपभोक्ता र आफ्नो उत्पादनको उचित मूल्य नपाएर निराश बनेका दुर्गमका किसानबीच एउटा पुलको काम गरेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments