एकातिर राष्ट्रिय कोदो दिवस, अर्कोतिर ७६ करोडको आयात

कोदो खेती

१६ साउन, काठमाडौं ।सरकारले पहिलोपटक आज (१६ साउन) राष्ट्रिय कोदो दिवस मनाइरहँदा, नेपालले वार्षिक ७६ करोडभन्दा बढीको कोदो आयात गरिरहेको भयावह तथ्यांक सार्वजनिक भएको छ। कोदोजन्य बालीको आयात रोक्ने र आन्तरिक उत्पादन बढाउने उद्देश्यले दिवस मनाउन लागिए पनि बढ्दो आयातले यस क्षेत्रको चुनौतीलाई स्पष्ट पारेको छ।

कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा गठित मूल आयोजक समितिले ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारा तय गरेको छ। यो दिवसले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षा सुनिश्चित गर्न, र दिगो विकास लक्ष्य हासिल गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

एक वर्षमै ७६ करोडको कोदो आयात

भन्सार विभागको तथ्यांकले पछिल्लो एक वर्षमा नेपालले १५ हजार ३ सय मेट्रिक टन कोदो आयात गरेको देखाउँछ, जसको मूल्य ७६ करोड ६३ लाख रुपैयाँभन्दा बढी छ। चिन्ताजनक कुरा के छ भने, आयातित कोदोको लगभग सम्पूर्ण हिस्सा भारतबाटै भित्रिएको हो।

तथ्यांकअनुसार, भारतबाट ७६ करोड ६३ लाख ६४ हजार रुपैयाँको कोदो आउँदा चीनबाट केवल २२ हजार रुपैयाँ बराबरको १८६ किलो मात्रै आयात भएको छ। यो आयातबाट सरकारले ५ करोड ७५ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। आयात भएको अधिकांश कोदो खानका लागि प्रयोग हुने साधारण कोदो हो भने बीउका लागि करिब ५ लाख रुपैयाँको मात्रै आयात भएको विभागले जनाएको छ।

किन महत्त्वपूर्ण छ कोदो ?

पहाडी क्षेत्रको मुख्य बाली मानिने कोदोको आयात बढ्नुले आन्तरिक उत्पादन खस्किएको स्पष्ट संकेत गर्छ। यसै चुनौतीलाई सम्बोधन गर्न दिवस आयोजना गरिएको आयोजक समितिका अध्यक्ष सञ्जेल बताउँछन्।

उनका अनुसार कोदो खेती जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न पनि सहयोगी छ। “रासायनिक मलखाद र विषादीको प्रयोग नगरी वा कम गरेर पनि औसत उत्पादन लिन सकिन्छ,” सञ्जेलले भने, “यसले हानिकारक हरित ग्यास उत्सर्जन कम गर्न र जैविक विविधता जोगाउन पनि मद्दत पुर्‍याउँछ।”

विभागले दिवसको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। यो दिवसले कोदोको महत्त्वबारे जनचेतना जगाउँदै यसको उत्पादन र उपभोग बढाउन सरकारी तथा गैरसरकारी निकायलाई प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ। तर, आयातको आँकडाले नेपाललाई कोदोमा आत्मनिर्भर बन्न लामो यात्रा तय गर्नुपर्ने देखाउँछ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?