साउन १६ अब ‘राष्ट्रिय कोदो दिवस’, प्रधानमन्त्री ओलीद्वारा कोदोको उत्पादन र उपभोगमा जोड
काठमाडौं, साउन १६। सरकारले यस वर्षदेखि हरेक साउन १६ गतेलाई ‘राष्ट्रिय कोदो दिवस’का रूपमा मनाउने निर्णय गरेको छ। पहिलो राष्ट्रिय कोदो दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कोदोको पोषणीय र स्वास्थ्यवर्द्धक महत्त्वलाई उजागर गर्दै यसको उत्पादन तथा उपभोग बढाउन आम नागरिकलाई आह्वान गर्नुभएको छ।
प्रधानमन्त्री ओलीले कोदोलाई परम्परागत खाद्यान्न बाली मात्र नभई स्वास्थ्यका लागि समेत अत्यन्तै फाइदाजनक ‘गुणकारी खाद्यान्न’को रूपमा व्याख्या गर्नुभएको छ। “ग्लाइसेमिक इन्डेक्स कम हुने भएकाले यसले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ,” उहाँले आफ्नो सन्देशमा भन्नुभएको छ, “यसमा पाइने फाइबरले हृदय स्वास्थ्यलाई समेत मजबूत बनाउँछ।”
कम सिँचाइमा पनि उत्पादन हुन सक्ने कोदो जस्ता रैथाने बालीको प्रवर्द्धन गर्नु सरकारको प्राथमिकता रहेको प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “यस्तो गुणकारी खाद्यान्नलाई प्रवर्द्धन गर्न सरकारले यस वर्षदेखि साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउने निर्णय गरेको छ।”
“कोदो उत्पादन बढाऔं, कोदोका परिकारहरु उपभोग गरौं !” भन्ने नारासहित प्रधानमन्त्रीले रैथाने बालीको संरक्षण र प्रवर्द्धनमा सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभएको छ। यो दिवसले कोदोको महत्त्वबारे जनचेतना जगाउन र किसानहरूलाई यसको व्यावसायिक खेतीतर्फ आकर्षित गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।
