मनसुन सक्रिय: आज देशभर भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं, श्रावण २८ । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिकै रहेकाले आज (बुधबार) देशभर मनसुन सक्रिय रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार आगामी २४ घण्टा देशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ भने केही स्थानमा धेरै भारी वर्षाको समेत पूर्वानुमान गरिएको छ।

विभागका अनुसार, आज दिउँसो देशभर पूर्णतया बदली रही अधिकांश स्थानहरूमा मध्यम वर्षा हुनेछ। विशेषगरी मधेश प्रदेश, कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना छ। यीमध्ये एक-दुई स्थानमा धेरै भारी वर्षा पनि हुन सक्ने विभागको पूर्वानुमान छ। त्यस्तै, कर्णाली प्रदेशको एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।

आज राती गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा मौसम पूर्णतया बदली रहनेछ भने बाँकी भू-भागमा साधारणतया बदली रहनेछ। रातीको समयमा सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।

यसैगरी, लुम्बिनी प्रदेशको तराईका थोरै स्थानहरू तथा गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

भारी वर्षाका कारण पहाडी भू-भागमा पहिरो तथा भू-क्षयको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन तथा यातायात क्षेत्रमा समेत असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन विभागले सबैलाई अनुरोध गरेको छ। नदी तटीय क्षेत्र तथा पहिरोको जोखिममा रहेका बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?