मनसुन कमजोर भएपनि वर्षाको सम्भावना कायमै, केही स्थानमा भारी वर्षाको चेतावनी

काठमाडौं, भाद्र ०२ गते।आज सोमबार देशभर मनसुन केही कमजोर अवस्थामा रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार, मनसुनको न्यून चापीय रेखा आफ्नो सरदर स्थानभन्दा दक्षिणतर्फ सरेकाले मनसुन कमजोर भए पनि बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभावले वर्षाको क्रम भने जारी रहनेछ। विभागले आज दिउँसो र राति देशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ।

विभागले जारी गरेको पूर्वानुमान अनुसार, आज दिउँसो देशभर सामान्यतया बदली रही कोशी, बागमती, मधेश र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भू-भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। यसैगरी, देशका बाँकी पहाडी भू-भागमा पनि मध्यम वर्षा हुनेछ। लुम्बिनी प्रदेशको तराई क्षेत्र तथा बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

त्यस्तै, आज राति कोशी र मधेश प्रदेशका साथै अन्य प्रदेशका पहाडी भू-भागमा सामान्यतया बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली हुनेछ। रातिको समयमा मधेश प्रदेश, कोशी प्रदेशको पहाडी तथा तराई भू-भाग र अन्य प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशको तराई तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरूमा बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले नदी किनार तथा जोखिमपूर्ण क्षेत्रमा बसोबास गर्नेहरूलाई उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। साथै, वर्षाका कारण यातायात तथा दैनिक जनजीवनमा समेत असर पर्न सक्ने हुँदा आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?