आज देशभर वर्षा, बागमती र कर्णालीमा भारी वर्षाको सम्भावना
काठमाडौं, भाद्र ०८ गते ।
हाल मनसुनको न्यून चापीय रेखा आफ्नो सामान्य स्थानको नजिकै रहेको र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण देशभर वर्षाको अनुकूल अवस्था बनेको महाशाखाले जनाएको छ।
महाशाखाले आज दिउँसोका लागि जारी गरेको पूर्वानुमान अनुसार देशभर मौसम साधारणतया बदली रहनेछ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। बाँकी तराई भू-भागका थोरै स्थानहरूमा पनि वर्षा हुनेछ।
विशेषगरी, बागमती प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ। यस्तै, मधेश प्रदेश, कोशी प्रदेश र लुम्बिनी प्रदेशको तराई भू-भागमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राती पनि वर्षाको क्रम जारी रहनेछ। कोशी, मधेश, बागमती, र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ।
भारी वर्षाका कारण पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहन सक्ने, नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ। तराईमा हावाहुरीबाट हुन सक्ने सम्भावित क्षतिबाट जोगिन पनि आग्रह गरिएको छ। सडक तथा हवाई यातायातमा समेत सामान्य अवरोध आउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सुझाइएको छ।
