आगामी तीन दिन देशभरको मौसममा फेरबदल: मेघगर्जन र चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना
जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गर्दै देशका विभिन्न भू-भागमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना रहेको जनाएको छ। विभागका अनुसार आगामी आइतबारसम्म देशभरकै मौसममा आंशिकदेखि साधारणतया बदली रहने देखिएको छ।
२०८२ चैत्र २० गते शुक्रबारको मौसम पूर्वानुमान अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा सबै प्रदेशका हिमाली भू-भागमा साधारणतया बदली रहनेछ। गण्डकी र कर्णालीका हिमाली क्षेत्रका थोरै स्थान तथा अन्य पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना छ। विशेषगरी तराईका केही स्थानहरूमा हावाहुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन भनिएको छ। राती पनि कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको क्रम जारी रहने देखिन्छ।
चैत्र २१ गते शनिबार मौसम थप सक्रिय हुने देखिएको छ। दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ। साथै सुदूरपश्चिमको तराई र अन्य पहाडी क्षेत्रमा हल्का वर्षा हुनसक्ने विभागले जनाएको छ। शनिबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हावाहुरीको सम्भावना रहेको छ। रातीको समयमा पनि पहाडी र हिमाली भू-भागमा मध्यमदेखि हल्का वर्षा र हिमपातको सम्भावना कायम रहनेछ।
यसैगरी चैत्र २२ गते आइतबार देशका पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। तराईका थोरै स्थानहरूमा पनि हल्का वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। आइतबार राती भने पहाडी क्षेत्रमा आंशिक बदली रहे पनि तराईको मौसम मुख्यतया सफा रहनेछ। यद्यपि, कोशी, गण्डकी र कर्णालीका हिमाली भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहने विभागले उल्लेख गरेको छ। मौसममा आउने यस्तो परिवर्तन र हावाहुरीका कारण हुनसक्ने जोखिमबाट बच्न विभागले सबैमा आग्रह गरेको छ।
