पश्चिमी र स्थानीय वायुको प्रभाव: पहाडी भू-भागमा वर्षा र हिमपातको सम्भावना, तराईमा हावाहुरी

भारी वर्षा

काठमाडौँ, चैत २१ गते ।

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको मिश्रित प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसममा आंशिकदेखि साधारणतया बदली रहनेछ। हाल बागमती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका साथै देशका हिमाली भू-भागमा साधारणतया बदली भई अन्य क्षेत्रमा आंशिक बदलीको अवस्था रहेको छ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ। यी प्रदेशका पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। यस्तै, सुदूरपश्चिमको तराई र देशका अन्य हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको आकलन गरिएको छ। तराईका केही स्थानहरूमा दिउँसो हावाहुरी चल्ने सम्भावना समेत रहेको छ।

राती पनि देशका पहाडी र हिमाली भेगमा मौसम साधारणतया बदली नै रहने महाशाखाले जनाएको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपात हुनसक्नेछ। अन्य प्रदेशका पहाडी भू-भाग र सुदूरपश्चिमको तराईमा हल्का वर्षाको सम्भावना छ। विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थानहरूमा राती हावाहुरी चल्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?