आगामी तीन दिनको मौसम पूर्वानुमान: नयाँ वर्षको सुरुवातमै पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा कमजोर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेका कारण देशको मौसममा मिश्रित प्रभाव देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशका पहाडी भू-भाग र अन्य हिमाली क्षेत्रमा आंशिक बदली रहे पनि तराईका क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

२०८२ चैत्र २९ गते आइतबार दिउँसो देशका हिमाली र कोशी प्रदेशको पहाडी भू-भागमा साधारणतया बदली रहने देखिन्छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका थोरै स्थानहरू तथा बाँकी हिमाली र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ । साथै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका थोरै स्थानमा हावाहुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ । आइतबार राती पनि कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको क्रम जारी रहने पूर्वानुमान छ ।

चैत्र ३० गते सोमबारको मौसम पनि पहाडी र हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदलीकै अवस्थामा रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । रातीको समयमा भने कोशी र गण्डकीका हिमाली क्षेत्रमा मात्र मौसमको प्रभाव देखिनेछ भने बाँकी भू-भाग सफा रहनेछ ।

विक्रम संवत २०८३ वैशाख १ गते, नयाँ वर्षको पहिलो दिन पनि पहाडी र हिमाली क्षेत्रमा मौसम पूर्णतया सफा रहने देखिँदैन । कोशी प्रदेशको पहाडी भू-भाग र देशका अन्य हिमाली क्षेत्रमा साधारणतया बदली भई केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । तराई क्षेत्रमा भने नयाँ वर्षको दिन मौसम मुख्यतया सफा रहनेछ । महाशाखाले वर्षा, हिमपात र चट्याङ्गको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?