तराईमा ‘तातो दिन’ को कहर र पहाडमा वर्षाको सम्भावना: यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान
काठमाडौँ । नेपालमा हाल पश्चिमी र स्थानीय वायुका साथै पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशका हिमाली भू-भागमा आंशिक बदलीको अवस्था रहे पनि बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ।
महाशाखाले जारी गरेको तीन दिनको मौसम पूर्वानुमान अनुसार आज वैशाख ७ गते सोमबार दिउँसो देशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानहरू र बागमती तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
विशेषगरी मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई, उपत्यका तथा खोँचहरूमा ‘तातो दिन’ हुने सम्भावना रहेकाले गर्मीबाट जोगिन सतर्कता अपनाउन अनुरोध गरिएको छ। राति भने कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुनसक्नेछ।
भोलि वैशाख ८ गते मङ्गलबार पनि मौसमको प्रवृत्तिमा खासै फेरबदल हुने छैन। हिमाली भू-भागमा साधारणतया बदली रहनेछ भने कोशीको पहाडी र तराई क्षेत्रमा आंशिक बदली हुने देखिन्छ। कोशी र अन्य हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहँदा तराईका जिल्लाहरूमा भने तातो हावा र अत्यधिक गर्मीको प्रभाव जारी रहने महाशाखाले जनाएको छ। रातिको समयमा पहाडी र तराई क्षेत्रको मौसम मुख्यतया सफा रहनेछ।
त्यसैगरी, वैशाख ९ गते बुधबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागमा साधारणतया बदली रहनेछ। बुधबार कोशी प्रदेशको पहाडी र हिमाली क्षेत्रका साथै बागमती र गण्डकीका हिमाली भेगका केही स्थानमा मध्यम वर्षा र हिमपातको समेत सम्भावना रहेको छ। देशका अन्य हिमाली भू-भाग र कोशीको तराईमा पनि हल्का वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। तराईका अधिकांश भू-भागमा बुधबार पनि गर्मीको लहर (तातो दिन) जारी रहने सम्भावना छ।
वर्षा, मेघगर्जन, चट्याङ्ग र विशेषगरी तराईमा बढ्दो तापक्रमका कारण जनस्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा आग्रह गरेको छ।
