आजदेखि लगातार तीन दिनसम्म देशभर कस्तो रहला मौसम ? पहाडमा पानी, तराईमा गर्मी
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम विश्लेषण अनुसार हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ। हाल देशका हिमाली भू-भागमा र कोशी प्रदेशको तराईमा आंशिक बादल लागेको छ भने बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज (बिहीबार) दिउँसो देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, पहाडी भू-भाग आंशिक बादल लाग्ने र तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ। कोशी प्रदेशको हिमाली र पहाडी भू-भाग लगायत गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ। यस्तै, राती कोशी प्रदेशको पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।
भोलि (शुक्रबार) कोशी प्रदेश लगायत बाँकी हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने र बाँकी तराई भू-भागमा आंशिक बादल लाग्नेछ। यस क्रममा कोशी प्रदेशको हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भाग तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका हिमाली भू-भागका साथै कोशी प्रदेशको तराईको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ। राती भने कोशी र गण्डकी प्रदेशको हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा/हिमपातको सम्भावना रहनेछ।
पर्सि (शनिबार) पनि देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने र तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भाग तथा लुम्बिनी, कर्णाली र सुदुरफश्चिम प्रदेशको हिमाली भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना छ। साथै, कोशी प्रदेशको तराई, लुम्बिनी प्रदेशको पहाडी भू-भाग, बागमती र गण्डकी प्रदेशको तराईका साथै मधेश प्रदेशको एक-दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यसैगरी, महाशाखाले तातो लहर र तातो दिनबारे विशेष चेतावनी जारी गरेको छ। आज, भोलि र पर्सि लगातार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको सम्भावना देखिन्छ। यसका अतिरिक्त, मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा समेत तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
