पहाड र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा तातो लहरको जोखिम

काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा मौसममा फेरबदल भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशका हिमाली भू-भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ।

महाशाखाले आज शुक्रबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ। साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका साथै मधेश प्रदेशका एक-दुई स्थानमा पनि हल्का वर्षा हुन सक्नेछ।

वर्षा र हिमपातको सम्भावना रहँदा तराई क्षेत्रमा भने गर्मीको चर्को प्रभाव देखिने भएको छ। मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्र, उपत्यका तथा खोँचहरूमा ‘तातो दिन’ हुने प्रक्षेपण गरिएको छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर (लू) चल्न सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

भोलि वैशाख १२ गते शनिबार पनि मौसमको अवस्था उस्तै रहने देखिन्छ। देशका हिमाली र पहाडी भू-भागमा बदली हुनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा वर्षाको सम्भावना छ। शनिबार मधेश, बागमती र गण्डकी प्रदेशको तराई तथा अन्य प्रदेशका पहाडी क्षेत्रमा समेत मेघगर्जनसहित वर्षा हुन सक्ने महाशाखाको बुलेटिनमा उल्लेख छ।

पर्सि १३ गते आइतबार पनि पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको क्रम जारी रहनेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा गर्मी यथावत रहनेछ। रातिको समयमा भने देशका हिमाली क्षेत्रमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भए पनि तराईको मौसम प्राय: सफा रहने जानकारी दिइएको छ।

वर्षा, चट्याङ्ग र तातो लहरको दोहोरो प्रभावका कारण हुन सक्ने जोखिमबाट बच्न र आवश्यक तयारी गर्न मौसमविद्हरूले सुझाव दिएका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?