आगामी तीन दिनको मौसम: पहाडी भू–भागमा वर्षा र हिमपात, तराईमा गर्मी बढ्ने

काठमाडौँ । नेपालमा हाल पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेका कारण आगामी तीन दिन देशका विभिन्न भागमा वर्षा, हिमपात र बढ्दो गर्मीको मिश्रित प्रभाव रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल कोशी प्रदेश र कर्णाली प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लागेको छ भने लुम्बिनीसहित अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ। तराईका भू-भागमा भने मौसम मुख्यतया सफा छ। कोशी प्रदेशका एक-दुई स्थानमा अहिले मध्यम वर्षा र हिमपात भइरहेको छ।

आज शनिबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै, मधेश प्रदेशका तराई क्षेत्र तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा पनि वर्षा हुन सक्नेछ। विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्र, उपत्यका तथा खोँचहरूमा भने तापक्रम बढेर ‘तातो दिन’ हुने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ। राती भने देशका हिमाली भू-भागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

भोलि १३ गते आइतबार पनि मौसमको अवस्था उस्तै रहने देखिन्छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै अन्य प्रदेशका पहाडी भू-भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना छ। मधेश प्रदेश र लुम्बिनीको तराई क्षेत्रका केही स्थानमा पनि वर्षाको संकेत गरिएको छ। तराईका जिल्लाहरूमा गर्मीको लहर यथावत रहने महाशाखाको अनुमान छ।

पर्सि १४ गते सोमबार देशका पहाडी र हिमाली क्षेत्रमा साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकीका थोरै स्थान र बाँकी प्रदेशका हिमाली भेगका एक-दुई स्थानमा वर्षा र हिमपातको सम्भावना छ। तराईका क्षेत्रमा भने सोमबार पनि गर्मीको प्रभाव रहनेछ।

महाशाखाले मेघगर्जन, चट्याङ्ग र वर्षाको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन तथा तराई क्षेत्रमा बढ्दो गर्मीबाट बच्न सर्वसाधारणलाई आग्रह गरेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?