विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, सुदूरपश्चिम र लुम्बिनीमा ‘तातो लहर’ को चेतावनी
काठमाडौँ: हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले हाल देशभर साधारणतया बादल लाग्नुका साथै बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आगामी तीन दिनसम्म देशका विभिन्न भागमा वर्षा, हिमपात र तातो लहरको मिश्रित प्रभाव रहनेछ। आज आइतबार दिउँसो र राती कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा पनि केही स्थानमा वर्षा हुन सक्ने देखिन्छ। मधेश र कोशी प्रदेशका तराई क्षेत्रमा भने केही स्थानमा हावाहुरी चल्ने सम्भावना छ।
मौसममा यस्तो फेरबदल भइरहँदा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका नागरिकहरूले भने अत्याधिक गर्मीको सामना गर्नुपर्ने देखिएको छ। ती प्रदेशका पहाडी भू-भागमा ‘तातो दिन’ र तराई क्षेत्रमा ‘तातो लहर’ चल्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
भोलि सोमबार पनि कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्ने र केही स्थानमा वर्षा हुने क्रम जारी रहनेछ। सोमबार रातीबाट वर्षाको क्षेत्र विस्तार भई मधेश प्रदेशका केही स्थानहरूमा समेत मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ। मधेश, बागमती र गण्डकी प्रदेशको तराई क्षेत्रमा हावाहुरी चल्ने जोखिम पनि औंल्याइएको छ।
यसैगरी आगामी मंगलबार (जेठ १२ गते) देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका साथै कोशी र मधेश प्रदेशका तराईका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। मंगलबार पनि सुदूरपश्चिम र लुम्बिनीको तराईमा गर्मी यथावत रहने र अन्य प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ। वर्षा, हिमपात, हावाहुरी र तातो लहरबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न महाशाखाले सबैमा सचेत रहन आग्रह गरेको छ।
