बालेन सरकारको नीतिले जुर्मुराउँदै नेपाली कृषि: स्वदेशी उत्पादनले पायो उचित बजार र मूल्य
युवा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले लिएका कडा र किसानमुखी नीतिका कारण यतिबेला मुलुकको कृषि क्षेत्रमा उत्साहजनक परिवर्तन देखिन थालेको छ। सरकारले विशेष गरी आयातित वस्तुको नियमन र स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति लिएसँगै यसको प्रत्यक्ष लाभ भुइँतहका किसानले लिन थालेका छन्।
विदेशी केरा विस्थापित, स्थानीय जातको माग बढ्दो
केही समय अघिसम्म भारतीय केराको दबदबाका कारण नेपाली किसानले आफ्ना उत्पादन डोकोमा बोकेर गाउँ-बेसी चहार्दा समेत उचित मूल्य पाउन कठिन थियो। तर, बालेन सरकारले आयातित केरामा कडाइ गरेपछि अहिले बजारमा नेपाली स्थानीय जातका केराको माग ह्वात्तै बढेको छ। कुनै समय बिक्री गर्नै धौ-धौ हुने झप्री, सख्खरचिनी, मालाभोग, धुस्रे र अठिया जस्ता रैथाने जातका केराले अहिले सम्मानजनक बजार र मूल्य पाइरहेका छन्।
भन्सारमा कडाइ र तरकारीको बजार विस्तार
सरकारले सीमा नाकामा भन्सार जाँच र विषादी परीक्षणमा कडाइ गरेसँगै सीमा आसपासका क्षेत्र मात्र नभई देशभरिकै नेपाली तरकारी र फलफूलले बजार पाएका छन्। बाह्य उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेर निराश बनेका किसानहरू अहिले आफ्नै उत्पादनले बजार ओगट्न थालेपछि उत्साहित भएका छन्। बिचौलियाको प्रभाव कम हुँदै जानु र सिधै बजारसम्मको पहुँच सहज हुनुले किसानको आम्दानीमा समेत वृद्धि भएको छ।
पशुपालनमा नयाँ आशा: डिडिसीको ‘ब्रान्डिङ’ र सामाजिक प्रभाव
कृषिसँगै पशुपालन क्षेत्रमा पनि सरकारको सकारात्मक प्रभाव देखिएको छ। हालै प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) को चिज खाएको तस्बिर सार्वजनिक गरेपछि त्यसको व्यापारमा चामत्कारिक सुधार आएको छ।
“प्रधानमन्त्रीको एउटा सानो पहलले नेपाली उत्पादनको बजार पहिलेभन्दा चार गुणाले बढेको छ। यसले दूध उत्पादन गर्ने किसानहरूमा नयाँ आशा जगाएको छ र पशुपालन व्यवसायलाई थप व्यावसायिक बनाउन ऊर्जा प्रदान गरेको छ।”
किसानको मुहारमा खुसी
अहिले देशभरका किसानहरू बालेन सरकारको कार्यशैली र स्वदेशी मोहबाट प्रभावित भई खुसी व्यक्त गरिरहेका छन्। “जुन देशका किसान हसिलो र खुसी हुन्छन्, त्यो देश साच्चै नै कृषि प्रधान र धनी बन्ने निश्चित छ” भन्ने मान्यतालाई बालेन सरकारका पछिल्ला कदमहरूले चरितार्थ गर्दै लगेका छन्। सरकारी तहबाटै आफ्ना उत्पादनको संरक्षण र प्रवर्द्धन हुन थालेपछि किसानहरूले प्रधानमन्त्रीलाई आशीर्वाद समेत दिइरहेका छन्।
